RayNewsDaily
राजावादीको आन्दोलन शान्तिपूर्ण रुपमा सञ्चालन हुँँदै

रमेश हतुवाली/काठमाण्डू । राजतन्त्रको स्थापना र गणतन्त्रको अन्त्य गर्ने उद्घोषका साथ राजावादीहरुले आयोजना गरेको काठमाण्डू केन्द्रित आन्दोलन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको छ । 

एकीकृत राष्ट्रिय संघर्ष समितिको आह्वानमा रत्नपार्कस्थित शान्ति वाटिकामा भेला भएका हजारौं राजावादीहरुले भ्रष्ट व्यवस्थाको अन्त्य गर्दै संवैधानिक राजसंस्थाको पुन:स्थापनामा जोड दिएका छन् । 

विभिन्न नारा लेखिएका प्लेकार्ड र व्यानरका साथै राष्ट्रिय झण्डा बोकेर आन्दोलनका लागि देशका विभिन्न भागबाट आएका सहभागीहरुले राष्ट्रिय एकता, भौगोलिक अखण्डता र सार्वभौमिकतालाई अक्षुण्ण राख्दै राष्ट्रियता मजबुत बनाउन पनि आह्वान गरेका छन् । 
Ballab-Prasad-Dahal-1748518460.jpgबल्लभ दाहाल, पूर्व जिल्ला सभापति, मोरङ
गणतन्त्रको नाममा लुटतन्त्र बन्द गर्न, संघीय सरकारको कुनै पनि काम नभएकोले संघीयता खारेज गरी आर्थिक हिनामिना कटौती गर्न, शिक्षा, स्वास्थ्य र न्याय सर्वसुलभ गर्न, कृषिमा आधुनिकीकरण गरी किसानहरूलाई बीउबिजन, सिँचाइको उचित व्यवस्था मिलाई उत्पादन भएको कृषि उपज र जडीबुटी तथा खनिज पदार्थहरूको उत्पादन, प्रशोधन गरी बजारीकरण गर्न आन्दोलनकारीहरुले माग गरेका छन् । 
पूर्वीय दर्शन, मौलिक भाषा तथा संस्कृतिको संरक्षण, बलात्कारी र अपराधीहरुलाई आममाफी दिने परम्पराको अन्त्य, विश्वसामु नेपालको शिर उच्च राख्नु पर्ने लगायतका मागहरु समेत राखेका छन् । 

Bikkram-Bahadur-Thapa-1748518562.jpgविक्रम बहादुर थापा, अध्यक्ष, राप्रपा, बागमती प्रदेश
आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानबहादुर शाही, दीपक सिंह, पूर्व शिक्षामन्त्री केशर बहादुर विष्ट लगायतका नेताहरुको सहभागिता रहेको छ । 

राजावादीहरुको आन्दोलनलाई ध्यान दिँदै सुरक्षाअंगले काठमाण्डू प्रवेश गर्ने मुख्य नाकाहरु र रत्नपार्क क्षेत्रमा कडा सुरक्षाको व्यवस्था गरेको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update