RayNewsDaily
पोखराको प्याराग्लाइडिङ अब खपौदीमा अवतरण हुने        

जमुना वर्षा शर्मा/पोखरा । पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पछिल्लो समय विस्तारै चलायमान हुन थालेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्था (ना) को सहकार्यमा प्याराग्लाइडिङको समय डेढ घण्टा थप्नुका साथै यसअघि हुँदै आएको खपौदीमा अवतरण गर्ने निर्णयले आशा जगाएको हो ।     
     
पुरानै ठाउँमा अवतरण समय थप्ने निर्णयले पोखरालाई विश्वस्तरीय प्याराग्लाइडिङ गन्तव्यका रूपमा स्थापित गर्न सकिने अपेक्षा व्यवसायी र प्यारापाइलटले गरेका छन् । पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि सुरक्षाको कारण देखाउँदै सराङकोट र तोरीपानीबाट उडान हुने प्याराग्लाइडिङलाई मान्द्रेढुङ्गा स्थानान्तरण गरिएको थियो भने पामेमा अवरतरण हुँदै आएको थियो । सोही कारण प्याराग्लाइडिङ व्यवसाय स्थिरजस्तो बन्नुका साथै व्यवसायीलाई चुनौती थपेको थियो ।     
     
अब भने सराङकोट तोरीपानीको बाहाकोट उडान (टेक अफ) गरेर खपौदी, (इन्ड अफ लेक) मा पूर्ववत् स्थानमा अवतरण हुने निर्णय भएको नाका अध्यक्ष अनिल केसीले जानकारी दिनुभयो ।     
     
“यसअघि हामीमा प्याराग्लाइडिङ सञ्चालन चुनौतीपूर्ण र समस्यायुक्त थियो । अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराको आकाशको चमक हराइसकेको थियो । व्यवसाय धान्न पनि मुस्किल थियो भने करिब एक सय ५० भन्दा बढी प्यारापाइलट विस्थापित हुनुपरेको थियो । अब भने यो निर्णयले आशा जगाएको छ”, उहाँले भन्नुभयो ।     
     
उहाँका अनुसार बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म प्याराग्लाइडिङ सेवा सञ्चालन हुने भएको छ । योसँगै पर्यटक र पाइलटलाई फेवाताल र अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यको आनन्द लिन थप समय प्रदान गर्ने जनाउँदै नाका अध्यक्ष केसीले भन्नुभयो, “यो समय विस्तारले उडान सङ्ख्या बढाउन र पर्यटकको अनुभवलाई अझ रोमाञ्चक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”     
     
पोखरा महानगरापालिकाका प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्ष-२०२५ सञ्चालन भइरहेको सन्दर्भसँगै भएको यो निर्णयले पोखराको साहसिक गतिविधिमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।     
     
“सकारात्मक प्रयास भएको छ, यसले पुनः पोखराको पर्यटनमा गति थप्नेछ, ढिलै भए पनि व्यवसायीको माग सम्बोधन भएको छ”, उहाँले भन्नुभयो, “प्याराग्लाइडिङको समय विस्तारसँगै पुरानो स्थलमा अवतरणले साहसिक पर्यटकको मन जित्नेछ । पोखरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेछ ।”     
     
अध्यक्ष केसीले आगामी दिनमा सोलो प्याराग्लाइडिङ सञ्चालन र अन्तरराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्ने योजनासमेत बनाइएको जानकारी दिनुभयो ।     
     
पोखरा अन्तरराष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रण प्रमुख योगेन्द्र कुँवरले दिगो पर्यटनका लागि क्यानको सहकार्यमा पुराना स्थलहरूमा अवतरण अनुमति दिइएको बताउनुभयो । “सुरक्षा पहिलो प्राथमिकता हो । सबै कम्पनी र पाइलटले कडा सुरक्षा मापदण्ड पालना गरी पर्यटकलाई सुरक्षित अनुभव प्रदान गर्नुपर्दछ”, उहाँले भन्नुभयो ।     
     
पोखरा भ्रमण वर्ष संयोजक गोपीबहादुर भट्टराईले पर्यटन वर्ष सफल पार्न पर्यटकीय गतिविधि बढाउनुका साथै चीन र भारतसँग पोखरालाई जोड्ने ‘कनेक्टिभिटी’को सुनिश्चिताको आवश्यक रहेको बताउनुभयो । “पोखराको सौन्दर्यकै रूपमा रहेको साहसिक पर्यटनको प्याराग्लाइडिङलाई अब कुनै हालतले विस्थापित हुन दिनुहुँदैन”, उहाँले भन्नुभयो ।     
     
भट्टराइले यसको विस्तार र प्रवर्द्धनका लागि थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वय, समर्थन तथा पर्यटन व्यवसायीको सक्रिय सहयोगले यो सम्भव हुने उहाँको भनाइ छ ।     
     
प्याराग्लाइडिङलाई थप सुरक्षित बनाएर सुरक्षालाई प्राथमिकता दिँदै नाले मे २१, २०२५ मा पाइलटका लागि प्राविधिक तालिम सञ्चालन गरेको थियो । तालिममा हवाई क्षेत्रको सीमा, अनुशासन र सुरक्षा प्रोटोकलका बारेमा थप प्रशिक्षित गराइएको नाका महासचिव बलराम आचार्यले जानकारी दिनुभयो ।     
     
उहाँका अनुसार नाका प्राविधिक उपाध्यक्ष विजय गौतम, राष्ट्रिय खेलाडी विमल अधिकारी र प्रमुख प्रशिक्षक योगेशबहादुर भट्टराईले जिपिएस र आधुनिकपद विधिको प्रयोगबाट सुरक्षित र व्यवस्थित उडान सुनिश्चित गर्ने उपायबारे जानकारी दिनुभएको थियो ।     
     
जिपिएस र आधुनिक प्रविधिको प्रयोगले प्याराग्लाइडिङलाई थप सुरक्षित र व्यवस्थित बनाएको नाले जनाएको छ । समय, पूर्ववत् अवतरणस्थल र सुरक्षाका क्षेत्रमा गरिएको पहलले पोखराको प्याराग्लाइडिङले नयाँ उचाइ लिने अपेक्षा गरिएको नाका वरिष्ठ उपाध्यक्ष खेमराज आचार्यले बताउनुभयो ।     
     
“प्राकृतिक सौन्दर्य, सुधारिएको नियमावली र महत्वाकाङ्क्षी पर्यटन योजनाको संयोजनले पोखरालाई सन् २०२५ र त्यसपछिका लागि साहसिक पर्यटकको अत्यावश्यक गन्तव्य बनाउने छ”, उहाँले भन्नुभयो ।     
     
उपाध्यक्ष आचार्यका अनुसार प्याराग्लाइडिङ व्यवसायमा करिब एक अर्ब लगानी छ भने ५९ व्यावसायिक कम्पनी छन् । चार सय जान ‘टेन्डम’ (दुई जना उड्न मिल्ने) पाइलट छन् । करिब एक सय ५० व्यवसायी विस्थापित भएको अवस्था रहेको बताउँदै उहाँले हाल दुई सय ५० ले काम गरिरहेका जानकारी दिनुभयो ।     
     
पहिला दैनिक कम्तीमा पाँच सयदेखि बढीमा एक हजार पाँच सयसम्म उडान गर्न सफल हुँदै आएकामा स्थानान्तरणले उडानमा सीमित हुँदा व्यवसायी मर्कामा पर्दै आएका छन् । रासस

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update