
रे समाचार/काठमाडौं । नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्तिपछि शेयर बजारमा उछाल आउने अपेक्षा विपरीत आज नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ ।
शेयर बजार मापक नेप्से परिसूचक आज ७.९४ अंक घटेर २६६९.५१ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ७ अर्ब ३१ करोडको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ६९ करोड ८६ लाख ५१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, सिन्धु विकास बैंकको शेयरमूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन शेयरमूल्य भने सर्वाधिक ८.३२ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ७१ करोड ३ लाख ६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, माउन्टेन इनर्जी नेपालको ५९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको करिब ५८ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज तीनवटा उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ ।