RayNewsDaily
भोजपुरको धार्मिक तथा पर्यटकीय क्षेत्र चुलाचुली गुफा ओझेलमा    

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका ४ दलगाउँको दितेनीस्थित चुलाचुली गुफा ओझेलमा परेको छ । स्थानीय सरकारले यो गुफाको संरक्षण तथा विकास गरिरहेको भएपनि प्रचार अभावमा यो स्थल ओझेलमा परेको हो । हेर्दा नै अनौठो लाग्ने यो स्थानले धेरैको मन लोभ्याउने गर्दछ ।     
     
भौगोलिक रुपमा विकट क्षेत्रमा रहेकोले यो स्थान देश विदेशमा परिचित बन्न नसकेको स्थानीयबासी अनिल राईले बताउनुभयो । यहाँ रहेका ढुङ्गामा विभिन्न देवी देवताको आकृति देख्न सकिने उहाँको भनाइ छ ।त्योसँगै यो स्थल अवलोकनको क्रममा विभिन्न आश्चर्यजनक ठाउँहरुसमेत हेर्न सकिने उहाँले जानकारी दिनुभयो ।“चुलाचुली गुफा हेर्दा नै आश्चर्यजनक स्थल देखिन्छ”उहाँले भन्नुभयो,“ सायदै नेपालमा यस्ता ठाउँ कमै होलान् । यहाँका ढुङ्गामा प्राकृतिक रुपमा कुदिएका विभिन्न देवी देवताको आकृति देख्न सकिन्छ । ढुङ्गाहरुमा मादलको झै आवाज आउछ । यहाँ दर्शन गरे मनोकाङ्क्षा पुरा हुने धार्मिक विस्वास पनि छ । तर यो स्थान ओझेलमा परेको अवस्था छ ।”     
     
डाँडामा रहेको यो स्थानको करिव दुई रोपनी क्षेत्रमा रहेको ढुङ्गाहरु खोलाका बगर झै कुदिएका छन् । गुफा भित्र शिव तथा विभिन्न देवीदेवताको मूर्तीसँगै, हात्ती जस्तो सुडो, गाईको थुन, नाँगको चित्रलगायतको आकृति रहेको स्थानीयबासीको भनाइ छ । यहाँ राम नवमी, नयाँ वर्षलगायत विभिन्न अवसरमा मेला लाग्ने गरेको स्थानीयबासी विनोद राईले बताउनुभयो ।     
“यो गुफा हेर्दा नै अनौठेको खालको छ”उहाँले भन्नुभयो,“स्थानीय सरकारले संरक्षणको काम गरिरहेको छ । २०७२ सालको भुकम्पको कारण गुफामा पस्ने बाटो केहि ठाउँमा टालिएको छ । भित्र पस्नको लागि बत्ती जडान गर्नु पर्ने अवश्यकता छ । यो ठाउँलाई सानो हलेसीको रुपमा पनि लिने गरिन्छ ।”     
     
वडाको एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल रहेकोले यसको संरक्षणको काम भईरहेको वडाध्यक्ष बाबुकुमार राईले बताउनुभयो । यहाँ मन्दिर निर्माण, घेराबारा, शौचालय तथा विश्राम स्थल निर्माणको काम गरिएको उहाँले जानकारी दिनुभयो । “यो हाम्रो वडाको निकै महत्वपूर्ण धार्मिक स्थल हो”वडाध्यक्ष राईले भन्नुभयो,“हामीले आफ्नो तहबाट संरक्षणको काम गरिरहेका छौँ । खास गरेर यो स्थान प्रचार प्रसारको अभावमा ओझेलमा परेको अवस्था छ ।”     
     
नेपाल जलबायु अनुकुलन नमूना कार्यक्रम अन्तर्गत यहाँ संरक्षण तथा विभिन्न संरचना निर्माणको काम भइरहेको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । यो वर्ष सो कार्यक्रमबाट रु.दश लाख लागतमा संरक्षणको काम भइरहेको उहाँको भनाइ छ । यो क्षेत्रको बृहत्तर विकास लागि विस्तृत परियोजना प्रतिवेदन(डीपिआर) तयार गरेर आवश्यक काम गरिरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । “यो क्षेत्र प्रचार प्रचार अभावमा ओझेलमा परेको छ”अध्यक्ष राईले भन्नुभयो,“यहाँको विस्तृत परियोजना प्रतिवेदन तयार गरेर नै विकासका काम गर्दै आएका छौँ । यो ठाउँलाई गाउँपालिकाको आर्थिक श्रोतको रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ । यसको योजनाबद्ध विकासमा गाउँपालिका जुटेको अवस्था छ ।” गुरु योजना बनाएर नै गाउँपालिका भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले काम गरिरहेको अध्यक्ष राईले जानकारी दिनुभयो । रासस

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update