
रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ८.४१ अंक घटेर २६११.८५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७३ करोडको शेयर खरिदबिक्री भएकोमा आज ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयरमूल्य आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने बाराही हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य भने आज सर्वाधिक ८.६५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सोल्टी होटल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको आज ४६ करोड १९ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, राधी विद्युत कम्पनीको ४४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने युनिभर्सल पावर कम्पनीको करिब साढे ३३ करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज तीनवटा उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ ।