रे समाचार/काठमाडौं । शेयर बजार आज उच्च अंकले वृद्धि भएको छ । निरन्तर साइडवेजमा रहेको शेयर बजार मापक नेप्से सूचक आज राम्रो अंकले बढेको हो । आज नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा पुगेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । हिजो ८ अर्ब ७४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएकोमा आज १० अर्ब ५१ करोड ८४ लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ । आज झण्डै आधा दर्जन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा बढेर कारोबार भएको छ ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, बुटवल पावर कम्पनी र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, पिपुल्स हाइड्रोपावर कम्पनी र जानकी फाइनान्सको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । कारोबारमा आएका कम्पनीहरूमध्ये सबैभन्दा धेरै मूल्य घट्नेमा न्यादी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको शेयर मूल्य ४.४३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सानिमा माई हाईड्रो पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५९ करोड २० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, ङादी ग्रुप पावरको ५४ करोड ७९ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको ४३ करोड ११ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज सबै उपसमूहको परिसूचक बढेको छ । फाइनान्स समूह सर्वाधिक ५.४७ प्रतिशतले बढेको छ । यसैगरी, हाइड्रोपावर समूहको सूचक ३.१३ प्रतिशतले वृद्धि भएको छ । बैंकिङ, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स र अन्य उपसूचक २ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।