
रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३.४४ अंक घटेर २६२०.३९ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बुधबार ९ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएकोमा आज ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रूपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज तीनवटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । यसैगरी, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको शेयरमूल्य साढे ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ६० करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ । यसैगरी, ङादी ग्रुप पावरको ५५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको करिब साढे ५१ करोडको शेयर किनबेच भएको छ ।
१३ उपसमूहमध्ये आज ५ उपसमूहको परिसूचक बढेको छ भने ८ वटा उपसमूहको परिसूचक घटेको छ । बैंकिङ्ग, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंकले वृद्धि भएको छ । वित्त उपसमूहको परिसूचक भने सर्वाधिक १.३० प्रतिशतले घटेको छ ।