RayNewsDaily
शेयर बजारमा सामान्य वृद्धि

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज ३.५८ अंक बढेर २६६१.६० विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ ।

गत बिहीबार ७ अर्ब ८७ करोडको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ८७ करोड ५९ लाख ९१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यसैगरी, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी र ङादी ग्रुप पावरको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सानिमा माई हाइड्रोपावर र अरुण भ्याली पावर डेभलपमेन्टको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले बढेको छ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक १० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८६ करोड १७ लाख ३८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । यसैगरी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे ५६ करोडको शेयर कारोबार भएको छ भने राधी विद्युत् कम्पनीको कारोबार रकम ५६ करोड नाघेको छ । १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहको परिसूचक बढेको छ भने ७ वटा उपसमूहको परिसूचक घटेको छ । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update