RayNewsDaily
टोखा नगरपालिकाको बजेट सर्वसहमतिले पारित

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाले आर्थिक वर्ष २०८०–८१ का लागि एक अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट सर्वसम्मतिले पारित गरेको छ ।


आज सम्पन्न नगरसभाको १३ औं अधिवेशनको दोस्रो बैठकले बजेट सर्वसम्मतिले पारित गरेको हो । नगर प्रमुख प्रकाश अधिकारीले आर्थिक वर्ष २०८०–८१ को बजेट, आर्थिक बिधेयक र विनियोजन विधेयक सर्वसहमतिले पारित भएको घोषणा गर्नुभयो ।
आगामी आर्थिक बर्षमा नगरपालिको खर्च बेहोर्ने स्रोतमध्ये संघीय सरकारवाट रु. ५३ करोड ७३ लाख ७८ हजार, प्रदेश सरकारवाट रु. ११ करोड ५९ लाख २७ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर वापत रु. २७ करोड, आन्तरिक एवं अन्य आयबाट रु. २४ करोड ५२ लाख ९५ हजार, राजस्व बाँडफाँडबाट १४ लाख, जनसहभागिताबाट १ करोड र चालु आ.व. बाट बाँकी हुने रकम रु. ७० करोडबाट बेहोरिने भएको छ । कला संस्कृतियुक्त स्वच्छ, समुन्नत टोखा नगर भन्ने मूल नाराका साथ ल्याइएको बजेटमा पुँजीगततर्फ १ अर्ब २५ करोड ९६ लाख  ३० हजार र चालुतर्फ ६२ करोड ३ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको छ ।


बजेटले डिजिटल घर नम्बर वितरण, सडक बत्ती तथा सीसी टीभी क्यामेर जडान, कुहिने र नकुहिने फोहोरको स्रोतमै पृथकीकरण, मेयर दिवा खाजा कार्यक्रमका लागि समेत बजेट विनियोजन गरिएको छ । वडा समितिबाट सिफारिस भएर आएका योजनाका लागि ३१ करोड, नियमित मर्मत सम्भारका लागि ३ करोड, खेलकुद शाखाका लागि ३ करोड ५० लाख, स्वास्थ्य शाखाका लागि ३ करोड २५ लाख रुपैयाँ विनियोज गरिएको छ । खानेपानी लाइन विस्तारका लागि नगरपालिकाले १ करोड विनियोजन गरेको छ । तर, खानेपानीको चरम अभाव झेलिरहेका नगरबासीको समस्यालाई १ करोड रकम अपुग हुने नगरसभा सदस्यहरुको भनाइ छ । यस्तै महिला तथा बालबालिका शाखालाई ४० लाख रुपैयाँ मात्र विनियोजन गरिएकोमा केही महिला नगरसभा सदस्यहरुले गुनासो प्रकट गरेका थिए ।

आर्थिक वर्ष २०७९/८० मा  टोखा नगरपालिकाले दुई अर्ब ११ करोड ५६ लाख ७ हजारको बजेट ल्याएको थियो । यस पटक नगरपालिकाले बजेटको आकार घटाएको छ । ०७९/८० मा नगरको समग्र वित्तीय प्रगति ४८.२६ प्रतिशत मात्र थियो । यस पटक नगरपालिकाले पुँजीगत खर्च शतप्रतिशत गर्ने गरी नीति तथा कार्यक्रम ल्याएको जनाएको थियो । 

प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update