- पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित ।
- नयाँ कार्यसमितिमा पर्यटन क्षेत्रका व्यवसायीको प्रतिनिधित्व ।
- भोटेकोशी बाढी सङ्कटमा योगदान पुर्याउने सात जना सम्मानित ।
काठमाडौँ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित हुनुभएको छ ।
पाटा नेपाल च्याप्टरको ५१औँ वार्षिकोत्सव तथा निर्वाचनबाट हेरिटेज टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
कार्यसमितिको महासचिवमा स्क्वायर होटलकी प्रबन्ध निर्देशक रोमी अर्याल र कोषाध्यक्षमा अल्पाइन रेस्क्यु सर्भिसका अध्यक्ष प्रकाशचन्द्र लोहनी निर्वाचित हुनुभएको छ ।
सदस्यमा हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठ, जङ्गल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरे, बिजी बी क्याफेका कार्यकारी निर्देशक सुनीलबहादुर भट्टराई, पार्क भिलेज होटल एण्ड रिसोर्टकी निर्देशक माया शाक्य, अफ द वाल ट्रेकिङकी प्रबन्ध निर्देशक सरिता लामा, मार्कोपोलो ट्राभल्सका प्रबन्ध निर्देशक सिद्धार्थविक्रम थापा र वनबास चितवनका प्रबन्ध निर्देशक वासुदेव ढुङ्गाना निर्वाचित हुनुभएको छ ।
पोक्सी सदस्यमा दिनेश महर्जन, जान विश्वकर्मा, सञ्जयभक्त माथेमा, अङ्कित शर्मा, वसन्त गौतम, प्रकाश लामा र सुमन महर्जन रहनुभएको छ ।
पाटा नेपालको कार्यसमितिमा सार्वजनिक क्षेत्रबाट समेत प्रतिनिधित्व रहने व्यवस्था छ । जसअनुसार प्रथम उपाध्यक्षमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, द्वितीय उपाध्यक्षमा नेपाल एयरलाइन्सका मार्केटिङ निर्देशक तथा पर्यटन विभागका महानिर्देशक, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, नेपाल एयरलाइन्सका कर्पोरेट निर्देशक र नेपाल पर्यटन बोर्डका एक प्रतिनिधि पदेन सदस्य रहनेछन् ।
नवनिर्वाचित अध्यक्ष भट्टले नेपालको पर्यटन क्षेत्रको पुनरुत्थान, प्रभावित समुदाय तथा गन्तव्यलाई सहयोग र पर्यटन उद्योगलाई एकताबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भोटेकोशी बाढी सङ्कटमा योगदान पुर्याउने सात जना सम्मानित
समारोहमा हालैको भोटेकोशी बाढी सङ्कटका क्रममा तथा अन्य समयमा नेपालका लागि असाधारण साहस, मानवता र पर्यटन क्षेत्रमा योगदान पुर्याएका सात जनालाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा अन्तर्राष्ट्रिय सुरुङ तथा भूमिगत संरचना विशेषज्ञ प्राध्यापक आर्नल्ड डिक्स, नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन प्रिया अधिकारी, ग्लोबट्रटरका लेखक तथा अध्यक्ष आन्द्रे लुथी, वल्र्ड सेन्ट्रल किचनका डिलन डुगास, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडी, नेपाल पर्वतारोहण सङ्घका पर्वतीय उद्धार संयोजक विक्रम कार्की र होरस डेभलपमेन्ट एन्ड कन्सल्टिङकी गन्तव्य रणनीतिकार चोय तेह हुनुहुन्छ ।
कार्यक्रममा निवर्तमान अध्यक्ष खेम लकाईले नेपालको पर्यटन क्षेत्रका सदस्य तथा सरोकारवालालाई निरन्तर सहयोग र सहकार्यका लागि धन्यवाद दिँदै पर्यटन क्षेत्रको शीघ्र पुनरुत्थान र दिगो विकासका लागि एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो ।
प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिकी सभापति सुम्निमा उदासले पाटा नेपालको ५१ वर्षे यात्राको प्रशंसा गर्दै नेपालको पर्यटन उद्योगको प्रवर्द्धन र विकासमा संस्थाले पुर्याएको योगदानको चर्चा गर्नुभयो ।
उहाँले हालैको बाढीबाट पर्यटन क्षेत्रमा परेको प्रभावलाई सम्बोधन गर्दै पर्यटन पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच समन्वयात्मक प्रयास आवश्यक रहेको बताउनुभयो । रासस
