RayNewsDaily
एआईको नाम ‘सुपर इन्टेलिजेन्स’ राख्ने ट्रम्पको निर्णयलाई चीनको समर्थन
एआई निर्मित सांकेतिक चित्र
  • एआईको नाम ‘सुपर इन्टेलिजेन्स’ राख्ने अमेरिकी निर्णयलाई चीनको सम्मान ।
  • ट्रम्प-सी वार्तामा एआई प्रमुख एजेन्डा ।
  • एआईमा संवाद र समन्वय बढाउन चीनको जोड ।

बेइजिङ । चीनले अमेरिकाले ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) लाई ‘सुपर इन्टेलिजेन्स’ (एसआई) भनेर सम्बोधन गर्ने निर्णयको सम्मान गर्ने जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयले शनिबार जारी गरेको विज्ञप्तिमा अमेरिकाको शब्दावली छनोटलाई सम्मान गर्ने उल्लेख गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी प्रशासनका आधिकारिक सञ्चारमा एआईको सट्टा ‘सुपर इन्टेलिजेन्स’ शब्द प्रयोग गरिने घोषणा गर्नुभएको थियो ।

यसै साता वासिङ्टनमा भएको ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको शिखर वार्तामा एआईसम्बन्धी विषय प्रमुख एजेन्डामध्ये एक थियो । वार्तापछि ट्रम्पले राष्ट्रपति सीलाई पनि ‘सुपर इन्टेलिजेन्स’ शब्द बढी उपयुक्त लागेको दाबी गर्नुभएको थियो ।

चीनले भने उक्त दाबीको पुष्टि वा खण्डन गरेको छैन । विदेश मन्त्रालयले एआईसम्बन्धी प्रविधि निरन्तर विकसित भइरहेको उल्लेख गर्दै संवाद, अनुभव आदानप्रदान र सहमति निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिएको छ ।

शिखर वार्तापछि दुवै देशले एआईसम्बन्धी समन्वय तथा आकस्मिक घटनाबारे सूचना आदानप्रदान गर्न विशेष सञ्चार संयन्त्र स्थापना गर्ने सहमति गरेका छन् । एएफपी

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  २१:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update