RayNewsDaily
टोखा नगरपालिकाले ल्यायो एक अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट

काठमाडौ । काठमाडौंको टोखा नगरपालिकाले आर्थिक वर्ष २०७९-८० का लागि एक अर्ब ८८ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।

कला संस्कृतियुक्त स्वच्छ, समुन्नत टोखा नगर भन्ने मूल नाराका साथ ल्याइएको बजेटमा बार्षिक पूँजिगत खर्च शतप्रतिशत गर्ने, कृषि र पशुपालन व्यवसाय सुधार, शिक्षा र स्वास्थ्यलाई विशेष महत्व दिने लगायतका विषय समेटिएका छन् । आज नगरसभाको १३ औं अधिवेशनमा नगरपालिका उप प्रमुख मुरारी तामाङले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभयो । बजेट प्रस्तुत गर्नुअघि नगर प्रमुख प्रकाश अधिकारीले आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

नगरपालिकाले आगामी आर्थिक वर्षमा भ्रस्टाचारविरुद्ध शून्यसहनशीलता, स्थानीय पाठ्यक्रम, ई-लर्निङ सेवा विस्तार, लगायताका नीति तथा कार्यक्रम अवलम्वन गर्ने भएको छ । सहकारीमा रहेको बचतकर्ताको बचतको सुरक्षा, बजेटमा धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धन, नगर बस सञ्चालनलगायतका कार्यक्रम आउँदो आर्थिक वर्षको बजेटमा समेटिएका छन् ।

नगरपालिकाका कर्मचारी र जनप्रतिधिहरुको सामूहीक दुर्घटना बिमा, एक वडा एक पार्क, एक वडा एक सार्वजनिक शौचालयलाई पनि टोखा नगरपालिकाले प्राथमिकतामा राखेको छ ।

नगरपालिकामा आउने उजुरी फर्छ्योट दर शतप्रतिशत पुर्‍याउने लगायतका कार्यक्रम पनि बजेट वक्तव्यमा समेटिएको छ । नगरसभामा नगरपालिकाको नीति तथा कार्यक्रम र विभिन्न समितिहरुको वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

वर्ष २०७९-८० मा  टोखा नगरपालिकाले दुई अर्ब ११ करोड ५६ लाख सात हजारको बजेट ल्याएको थियो । यस पटक नगरपालिकाले बजेटको आकार घटाएको छ । ०७९-८० मा नगरको समग्र वित्तीय प्रगती ४८.२६ प्रतिशतमा रह्यो । 


 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update