RayNewsDaily
देशभर  फैलियो मनसुन

काठमाडौं । यस वर्षको मनसुन देशभर फैलिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज नियमित बुलेटिनमार्फत् मनसुन देशभर विस्तारित भएको बताएको हो । 

नेपालमा यस वर्षको मनसुन औशत मितिभन्दा एक दिन ढिला गरी जेठ ३१ गते कोशी प्रदेश, मधेश र गण्डकी प्रदेशको पूर्वी भूभाग र बागमती प्रदेशका अधिकांश भूभागमा आगमन भएको थियो । नेपालभर मनसुन फैलिन आगमनको दिनदेखि यस वर्ष ९ दिनको समय लागेको महाशाखाले जनाएको छ ।

अहिले देशभर मनसुन फैलिएको र सक्रिय अवस्थामा रहेको हुनाले आगामी तीन दिनसम्म देशका धेरै स्थानहरूमा मेघ गर्जन-चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । साथै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाका साथै सोही प्रदेशहरूका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पनि उसले बताएको छ ।

मनसुनको समयमा बाढी, पहिरो, डुबान, भूक्षय, बाटो हिलाम्य हुने, सडक तथा हवाई यातायात, कृषि, पर्यटन, स्वास्थ्य लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाले जनाएको छ । त्यसैले, खराब मौसमका कारणले हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update