RayNewsDaily
सभामुख घिमिरे र उत्तर कोरियाका राजदूत जोबीच भेटवार्ता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनबीच भेटवार्ता भएको छ ।

सभामुखको कार्यकक्ष सिंहदरवारमा आज शिष्टाचार भेटवार्ता भएको हो। भेटमा नेपाल-उत्तर कोरिया द्विपक्षीय सम्बन्ध विस्तार, संसदीय भ्रमण आदानप्रदान लगायतका विषयमा छलफल भएको उत्तर कोरियाली दूतावासले जनाएको छ ।

 

भेटमा सभामुख घिमिरेले दुवै देशबीच विभिन्न समयमा भएका संसदीय आदानप्रदान एवं भ्रमणको स्मरण गर्नुभएको थियो । उहाँले निकट भविष्यमा नेपालले नेपाल-उत्तर कोरिया संसदीय मैत्री समूह गठन गर्ने जानकारी दिनुभयो ।

सभामुख घिमिरेले नेपालले कोरियाली प्राय:द्वीपमा भएका घटनाक्रमलाई चासोका साथ नजिकबाट नियालिरहेको बताउँदै आफ्नो मुलुक कोरियाली शान्ति, एकता र स्थायित्वको पक्षमा रहेको उल्लेख गर्नुभयो । उहाँले सांसदहरूमार्फत दुई देशका जनताबीचको सम्बन्ध स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।

भेटमा नेपालका लागि उत्तर कोरियाका राजदूत जो योङ मेनले आफ्नो देशको सर्वोच्च जनसभा (संसद)ले  नागरिकका जन अधिकार र नागरिक स्वतन्त्रताको रक्षाका लागि कानुन निर्माण गर्दै गएको जानकारी गराउनुभएको थियो । उहाँले बालबालिकासम्बन्धी कानुन पारित भएसँगै निःशुल्क शिक्षाको अधिकार ग्यारेन्टी भएको जानकारी पनि दिनुभयो।

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update