RayNewsDaily
शेयर बजार २३ अंकले वृद्धि

रे समाचार/काठमाडौं । शेयर बजार आज पनि वृद्धि भएको छ । सरकार गठनमा नेपाली कांग्रेस र एमालेको नयाँ समीकरण बनेपछि वृद्धि हुन थालेको शेयर बजारले आज पनि त्यसैलाई निरन्तरता दिएको हो । शेयर बजार मापक नेप्से परिसूचक आज २३.२५ अंक बढेर २१७५.४० विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य वृद्धि भएको छ । हिजो ५ अर्ब ५३ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ७४ करोड ४० लाख बराबरको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.६९ प्रतिशत बढेको छ । यसैगरी, लघुवित्त उपसमूहको परिसूचक १.५४ प्रतिशतले वृद्धि भएको  छ ।  वित्त, जलविद्युत् र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

विकास बैंक उपसमूहको परिसूचक भने आज सामान्य अंकले घटेको छ । बलेफी हाइइड्रोपावरको शेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य ३४ रुपैयाँ ८० पैसा बढेर ३८२ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, सिक्लेस हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने एनआईसी एशिया लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशतले बढेको छ । बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने समाज लघुवित्तको शेयरमूल्यमा करिब १० प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज हाथवे इन्भेष्टमेन्ट कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १५ करोड ८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यसैगरी, जानकी फाइनान्सको करिब १५ करोडको शेयर खरिदबिक्री भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम ११ करोड नाघेको छ ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update