
काठमाडौं । काठमाडौं भित्रिने र बाहिरिने लामो तथा मध्यम दूरीका सवारी साधन आज शुक्रबार देखि गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएका छन् ।
असार १ गते देखि काठमाडौं महानगरपालिकाले काठमाडौंमा एकद्वार बसपार्क प्रणाली लागू गर्ने निर्णयपछि गोंगबुबाट मात्रै छुट्ने र रोकिने भएको महानगरपालिकाका ट्राफिक सल्लाहकार जगतमान श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार आजदेखि गोंगबु बसपार्कबाट बस छुट्ने र रोकिने कुरामा सबै यातायात व्यवसायी समेत सहमत भएका छन् ।
लामो तथा मध्यम दूरीका यात्रुवाहक सवारी साधनहरु गोंगबु बसपार्कबाट सञ्चालन हुन दिने गरी अन्तिम तयारी स्वरुप हिजो यातायात व्यवसायी र महानगरको टोलीको बैठक बसेको थियो । श्रेष्ठका अनुसार महानगरभित्र रहेका टिकट काउन्टर, होर्डिङ बोर्डहरु हटाइने भएको छ । बसपार्क बाहेक अन्य क्षेत्रमा कतै यात्रुहरु सुरक्षित चढाउन र ओराल्न सकिन्छ की भन्ने अध्ययन गर्न पनि कार्यदल गठन भएको श्रेष्ठले बताउनु भयो । कार्यदलमा ३ वटा यातायात मजदूर संगठनका प्रतिनिधि, उपत्यका ट्राफिक प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी, यातायात व्यवसायीका प्रतिनिधिलगायत छन् ।