RayNewsDaily
मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आज बजेट ल्याउँदै  


काठमाडौं । ६ वटा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट आज शुक्रबार ल्याउँदै छन् । मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले बजेट ल्याउन लागेका हुन् । कोसी प्रदेशले भने बिहीबार नै अध्यादेशमार्फत बजेट सार्वजनिक गरिसकेको छ । 


प्रदेश सरकारले हरेक वर्ष १ असारभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्ने अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले व्यवस्था गरेको छ । सोही व्यवस्थाअनुसार ६ वटै प्रदेशले बजेटलेखनलाई अन्तिम रूप दिएका छन् । त्यसलाई मन्त्रिपरिषद्बाट पास गराई प्रदेश सभामा प्रस्तुत गरिने छ । 


आगामी आर्थिक वर्षका लागि प्रदेशहरूले चालू आवको भन्दा औसत करिब १० प्रतिशतले आकार घटाएर बजेट ल्याउने तयारी गरेका छन् । आगामी आवमा प्रदेशको कुल बजेट दुई खर्ब ७० अर्बहाराहारीको हुने देखिएको छ । चालू आवका लागि प्रदेशहरूले तीन खर्ब पाँच अर्ब ४६ करोडको बजेट ल्याएका थिए । 


कोसी प्रदेशले चालू आर्थिक वर्षको भन्दा साढे तीन अर्बले आकार घटाएर आगामी आवका लागि ३६ अर्ब २४ करोडबराबरको बजेट ल्याएको छ । मधेस सरकारले पनि चालू आवको भन्दा करिब ११ प्रतिशतले आकार घटाएर बजेटलाई अन्तिम रूप दिएको छ । सुदूरपश्चिमले १५ प्रतिशतले आकार घटाएर बजेट ल्याउने तयारी गरेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशले पनि १० देखि २० प्रतिशतसम्मले आकार घटाएर बजेट ल्याउन लागेका छन् । 
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update