RayNewsDaily
प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ आज


काठमाडौं । प्रधानन्यायाधीशमा सिफारिस सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाइ आज बिहीबार हुने भएको छ ।


सुनुवाइका लागि संसदीय सुनुवाइ समितिले गम्भीर आरोपको सामना गरिरहनु भएका कार्कीलाई बिहान ८ बजे सिंहदरबार आमन्त्रण गरेको छ । लेखा समितिको हलमा कार्कीले प्रधानन्यायाधीश नियुक्त भएपछिका अवधारणा र कार्ययोजना राख्ने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनु भयो ।  


बिहान ११ बजे प्रतिनिधिसभा बैठक भएकाले बिहीबार नै सुनुवाइ सक्न समयको दबाब समितिलाई छ ।  सुनुवाइअघि समितिले उजुरीकर्तासँग छलफल गरेको छ । २९ जना उजुरीकर्ता रहेकामा सातजनाले व्यक्तिगत र अरूले सामूहिक रूपमा आफ्नो धारणा राखेको र त्यसमा समितिले छलफल गरेको कार्कीको दाबी छ । तर, उजुरीकर्ताले भने समितिको वैधतामाथि प्रश्न उठाउँदै छलफल नै बहिष्कार गरेका छन् ।

२० जना उजुरीकर्ताले संयुक्त समिति गठन गर्ने नियमावली अहिलेसम्म राजपत्रमा प्रकाशित नभएको, संवैधानिक परिषद्बाट सिफारिस गर्नका लागि कानुन नभएको विषय उठाएर उजुरीमाथि छलफल गर्न नमानेका हुन् । उजुरीकर्ताले छलफल गर्न नमान्दा सुनुवाइ समितिमा बुधबार लामो समय भाँडभैलो भएको थियो । समितिले बहुसंख्यक उजुरीकर्ताको विरोधलाई बेवास्ता गरी कर्मकाण्डी रूपमा छलफल सकेर कार्कीलाई सुनुवाइमा बोलाउने निर्णय लिएको हो । कार्की वैशाख २५ गते संवैधानिक परिषद्बबाट प्रधानन्यायाधीशमा सिफारिस हुनु भएको थियो । 

प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०८:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update