RayNewsDaily
शेयर बजारमा हरियाली

रे समाचार/काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले असार महिनामा पनि ब्याजदर घटाउने चर्चा चलेसँगै आज शेयर बजार उच्च अंकले वृद्धि भएको छ । शेयर बजार मापक नेप्से आज ३३.१५ अंक बढेर २११५.२४ विन्दुमा पुगेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि वृद्धि भएको छ । हिजो ५ अर्ब ४९ करोडको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज पाँच वटा स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । बरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखरी स्मल हाइड्रोपावर, भगवती हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य भने सर्वाधिक ५.८१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३६ करोड ३० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, माउन्टेन इनर्जीको २३ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई लघुवित्त र जानकी फाइनान्सको कारोबार रकम १० करोड नाघेको छ ।

आज १३ वटै उपसमूहको परिसूचक बढेका छन् । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशत बढेको छ । त्यसैगरी, वित्त, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने बैंकिङ्ग, विकास बैंक, लगानी र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update