
पैचिङ । जुन १० मा चीनमा सातौं सांस्कृतिक तथा प्राकृतिक सम्पदा दिवस मनाइन्छ। पैचिङमा अवस्थित श्वेत चैत्य परिसरमा "श्वेत चैत्य सांस्कृतिक सप्ताह २०२३" शृङ्खलावद्ध कार्यक्रम सोही दिन सुरु भएको छ। जुन १६ सम्म चल्ने सो सांस्कृतिक सप्ताहमा विशेष प्रदर्शनी, सांस्कृतिक लेक्चरसमेत छ किसिमका लगभग १० भन्दा बढी विशेषतायुक्त कार्यक्रमहरू रहेका छन्।
ती विविध कार्यक्रमहरूमार्फत् चीन र नेपालको प्रशस्त सांस्कृतिक स्रोत तथा दुई देशबीचको ऐतिहासिक र सांस्कृतिक आदानप्रदान एवम् सम्पदा संरक्षण क्षेत्रमा हासिल भएका उपलब्धिहरू देखाइँदै छ।
सन् १२७१ मा निर्मित श्वेत चैत्य नेपाली कलाकार अरनिकोले आठ वर्षसम्ममा निर्माण पूरा गरेका थिए। श्वेत चैत्य चिनियाँ राष्ट्रको एकीकरण र विकास, प्रसिद्ध ऐतिहासिक र सांस्कृतिक शहर पैचिङको संरक्षण र चीन-नेपाल मैत्रीपूर्ण आदानप्रदानको लामो इतिहासमा साक्षी भइरहेको छ।
"श्वेत चैत्य सांस्कृतिक सप्ताह २०२३" शृङ्खला कार्यक्रमको मुख्य विषयवस्तु "सांस्कृतिक सम्पदाको संरक्षण र सभ्यताहरू बीच पारस्परिक शिक्षाको प्रवर्द्धन" रहेको छ। सो अवधिमा राखिने सांस्कृतिक बजारमा परम्परागत नेपाली हस्तकला हेन्ना र पाटन ढुङ्गे कला कृति बनाइने प्रदर्शन पनि पाइन्छ।
साथै ‘चिनियाँ तिब्बती स्तूपको उत्पति र इतिहास' नामक विशेष प्रदर्शनीको पनि भइरहेको छ। सो प्रदर्शनीमा वर्तमान तिब्बती स्तूपहरूको रूप, ऐतिहासिक विकास र सांस्कृतिक पृष्ठभूमिबारे जानकारी दिइएको साथै नेपाली स्तूप कलाबाट तिब्बती लगायत चीनका अन्य क्षेत्रहरूमा स्तूप वास्तुकलामा पारिएको प्रभाव पनि देखाइन्छ।
यसका साथै सांस्कृतिक सप्ताहमा श्वेत चैत्य कोर्ने, कागजले त्रि-आयामिक श्वेत चैत्य बनाउने, माटोको रेफ्रिजेरेटर स्टिकर बनाउने, चैत्यका बत्तीहरू बनाउने लगायत विविध किसिमका गतिविधिहरुको अनुभव पनि लिन सकिन्छ।