RayNewsDaily
अपोलो-८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु   

वासिङ्टन डिसी । ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक “अर्थराइज“ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उहाँको परिवारले जनाएको छ ।    
    
एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए । विमानमा एन्डर्स एक्लै हुनुहुन्थ्यो ।    

शेरिफ एरिक पिटरले दुर्घटना क्षेत्रमा खोजी भइरहेको तर अहिलेसम्म शव फेला नपरेको बताउनुभयो ।    
    
डिसेम्बर १९६८ मा अपोलो-८ मिसनको सदस्य, एन्डर्स उहाँका समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्ति मध्ये एक हुनुहुन्थ्यो ।    
चन्द्रमाको एउटा कक्षबाट, एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारको बिरूद्ध चम्किलो निलो पृथ्वीको फोटो खिच्नुभएको थियो । “अर्थराइज“ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविहरूको राउन्डअपमा सूचीबद्ध गरिएको छ, र लाइफ म्यागजिनको पुस्तक “संसार बदलेको १०० तस्बिर“हरुको सूचीमा समावेश गरिएको थियो।    

“सन् १९६८ मा अपोलो-८ को समयमा बिल एन्डर्सले मानवतालाई अन्तरिक्ष यात्रीले दिन सक्ने सबैभन्दा ठुलो उपहार प्रदान गर्नुभएको थियो ।“ नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत बताउनुभयो ।    

सन् १९३३, अक्टोबर १७ मा हङकङमा जन्मिनुभएको एन्डर्सले अन्तरिक्ष यात्रीको रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि-सम्बन्धित सरकारी पदहरू सम्हाल्नुभयो । उहाँ विशेष गरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बन्नुभयो र त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतको रूपमा पनि सेवा गर्नुभएको थियो ।    
 

प्रकाशित मिति: शनिबार, जेठ २६, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update