- भारतीय राजदूत श्रीवास्तवसँग प्रधानमन्त्री शाहको पहिलो एकल भेटवार्ता ।
- नेपाल–भारत सम्बन्ध, विकास साझेदारी र सहकार्यका विषयमा छलफल ।
- आज दिउँसो ३ बजे चिनियाँ राजदूत चाङ माओमिङसँग भेटवार्ता हुँदै ।
रे समाचार/काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग पहिलोपटक एकल रूपमा शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल-भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो ।
यसअघि प्रधानमन्त्री शाहले विदेशी मुलुकका राजदूतहरूसँग सामूहिक रूपमा भेटवार्ता गर्नुभएको थियो । भारतीय राजदूतसँगको भेट भने उहाँले एकल रूपमा गर्नुभएको पहिलो भेट हो । दुवै तर्फका प्रतिनिधिहरु सहित भएको भेटवार्ता ४५ मिनेट चलेको थियो ।
भेटमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाउनुभयो ।
यसैगरी, प्रधानमन्त्री शाहसँग आजै नेपालका लागि चीनका राजदूत चाङ माओमिङले पनि भेट गर्ने कार्यक्रम रहेको छ । दिउँसो ३ बजेका लागि चिनियाँ राजदूतसँग भेटवार्ताको समय तोकिएको छ ।
