RayNewsDaily
दक्षिण कोरियासँगको सैन्य अभ्यासमा भारी कटौती गर्न ट्रम्पको निर्देशन
  • इरान मामिलामा दक्षिण कोरियाको असहयोगप्रति ट्रम्प असन्तुष्ट ।
  • १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी ‘उल्ची फ्रिडम शिल्ड’ ।
  • संयुक्त अभ्यास घटाउने निर्णयप्रति अमेरिकामै आलोचना ।

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँग हुने वार्षिक संयुक्त सैन्य अभ्यासमा भारी कटौती गर्न पेन्टागनलाई निर्देशन दिनुभएको छ । दक्षिण कोरियाले इरानविरुद्धको अमेरिकी युद्धमा सहयोग गर्न अस्वीकार गरेको तथा उत्तर कोरियाली नेता किम जोङ-उनसँग आफ्नो सम्बन्ध राम्रो रहेको भन्दै ट्रम्पले यस्तो निर्देशन दिनुभएको हो ।

ट्रम्पले सामाजिक सञ्जालमार्फत संयुक्त सैन्य अभ्यास महँगो हुनुका साथै उत्तर कोरियाका लागि अनुपयुक्त र शत्रुतापूर्ण सन्देश भएको बताउनुभएको छ । अभ्यास रद्द गर्न ढिला भइसकेकाले रक्षामन्त्री पिट हेगसेथलाई अभ्यासमा भारी कटौती गर्न निर्देशन दिएको उहाँले उल्लेख गर्नुभएको छ ।

ट्रम्पका अनुसार उहाँले हालै दक्षिण कोरियाली राष्ट्रपतिसँग इरानको ‘आणविक निशस्त्रीकरण’ प्रयासमा अमेरिकालाई सहयोग गर्ने विषयमा छलफल गर्नुभएको थियो । दक्षिण कोरियाले त्यसमा असहमति जनाएको उहाँको भनाइ छ ।

अमेरिका र दक्षिण कोरियाबीचको ११ दिने ‘उल्ची फ्रिडम शिल्ड’ संयुक्त सैन्य अभ्यासमा करिब १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन् । उत्तर कोरियाबाट हुन सक्ने सैन्य खतराविरुद्ध संयुक्त प्रतिरक्षा क्षमता सुदृढ गर्ने उद्देश्यले आयोजना गरिएको अभ्यासमा वास्तविक गोलीबारी, सैन्य युक्ति तथा नदी पार गर्ने अभ्यासलगायत गतिविधि समावेश छन् ।

दक्षिण कोरियाको रक्षा मन्त्रालयले अभ्यास योजनाअनुसार सोमबारदेखि सुरु भएको पुष्टि गरेको छ । अमेरिकी सेनाले भने अभ्यासले क्षेत्रीय शान्ति तथा सुरक्षा र अमेरिका-दक्षिण कोरिया गठबन्धनलाई सुदृढ गर्ने जनाएको छ ।

ट्रम्पको निर्णयप्रति अमेरिकी डेमोक्र्याटिक सिनेटर तथा पूर्व नौसेना पाइलट मार्क केलीले आलोचना गर्नुभएको छ । उहाँले संयुक्त सैन्य अभ्यास कमजोर पार्ने निर्णयलाई अदूरदर्शी र गल्तीपूर्ण कदम बताउनुभएको छ ।

यसअघि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासलाई ‘आक्रामक युद्धको पूर्वाभ्यास’ भन्दै कडा कदम चाल्ने चेतावनी दिएको थियो । विश्लेषकहरूका अनुसार उत्तर कोरियाले यस्ता अभ्यासलाई आफ्नो आणविक तथा क्षेप्यास्त्र कार्यक्रम अघि बढाउने बहानाका रूपमा प्रयोग गर्दै आएको छ । एपी

प्रकाशित मिति: सोमबार, भदौ १, २०८३  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update