RayNewsDaily
विद्युतीय सवारी उत्पादनका लागि अफ्रिका चिनियाँ कम्पनीको नयाँ गन्तव्य बन्दै
  • दक्षिण अफ्रिकामा निसानको पूर्वकारखाना खरिद गरी चेरीले विद्युतीय सवारी उत्पादन गर्ने ।
  • दक्षिण अफ्रिका, मोरक्को, केन्या, इथियोपिया र घाना चिनियाँ ईभी लगानीका लागि सम्भावनायुक्त ।
  • कमजोर पूर्वाधार र नीतिगत अनिश्चितता भने प्रमुख चुनौती ।

नैरोबी । चीनमा सवारी साधनको आन्तरिक माग सुस्त हुनुका साथै युरोप र उत्तर अमेरिकामा व्यापारिक अवरोध बढिरहेका बेला चिनियाँ अटो निर्माता कम्पनीहरूले अफ्रिकालाई विद्युतीय सवारी साधन (ईभी) उत्पादन र बजार विस्तारको नयाँ गन्तव्य बनाउन थालेका छन् ।

चीनको सबैभन्दा ठूलो अटो निर्यातकर्ता चेरीले जुलाईमा दक्षिण अफ्रिकाको प्रिटोरियानजिकै रहेको निसानको पूर्वरोस्लिन कारखाना खरिद गरेपछि अफ्रिकामा ईभी उत्पादनतर्फ चिनियाँ कम्पनीको चासो बढेको हो । चेरीले उक्त कारखानामा आफ्नो जेटोर ब्रान्डअन्तर्गत प्लग-इन हाइब्रिड तथा ब्याट्रीबाट चल्ने विद्युतीय सवारी उत्पादन गर्ने योजना बनाएको छ ।

chinese-ev-Africa-1786545126.jpeg
विश्लेषकका अनुसार अफ्रिकामा स्थानीय रूपमा सवारी उत्पादन बढ्दा रोजगारी सिर्जना, आपूर्ति शृङ्खलाको विकास र विद्युतीय सवारीको प्रयोग विस्तारमा योगदान पुग्न सक्छ । स्थानीय उत्पादनले आयात शुल्क घटाउनुका साथै चार्जिङ पूर्वाधार, पार्टपुर्जा उत्पादन र ब्याट्री उद्योगमा लगानी बढाउन पनि सहयोग पुर्‍याउन सक्छ । तर कमजोर पूर्वाधार र नीतिगत अनिश्चितता प्रमुख चुनौतीका रूपमा रहेका छन् ।

चेरीको दक्षिण अफ्रिका प्रवेश अफ्रिकी उपभोक्ताको नजिकै सवारी उत्पादन गर्ने चिनियाँ कम्पनीहरूको बढ्दो रणनीतिको हिस्सा हो । यसअघि बेइजिङ अटोमोटिभ ग्रुप (बीएआइसी)ले दक्षिण अफ्रिकाको ग्केबेरामा उत्पादन तथा एसेम्बली सुविधा सञ्चालन गर्दै आएको छ भने ग्रेट वाल मोटरले पनि स्थानीय एसेम्बली र पार्टपुर्जा आपूर्ति गर्दै आएको छ ।

दिगो यातायात प्रवद्र्धन गर्ने दक्षिण अफ्रिकी संस्था ‘द इलेक्ट्रिक मिसन’का कार्यकारी निर्देशक हितेन परमारले अफ्रिका अटोमोबाइल बजारका लागि नयाँ सम्भावनायुक्त क्षेत्र बन्दै गएको बताउनुभएको छ ।

विश्लेषकका अनुसार दक्षिण अफ्रिका, मोरक्को, केन्या, इथियोपिया र घाना चिनियाँ ईभी लगानीका लागि बढी सम्भावनायुक्त मुलुक हुन् । औद्योगिक क्षमता, अनुकूल सरकारी नीति र विस्तार भइरहेको विद्युत् पूर्वाधारका कारण यी मुलुकले लगानी आकर्षित गर्न सक्ने उनीहरूको भनाइ छ ।

मोरक्कोले युरोपेली बजारको निकटताबाट लाभ लिन सक्नेछ भने जिम्बाब्वेको ठूलो लिथियम भण्डारले विद्युतीय सवारीका लागि आवश्यक ब्याट्री आपूर्ति शृङ्खलालाई सहयोग पुर्‍याउन सक्छ । मोरक्कोमा अफ्रिकाकै पहिलो ठूलो क्षमताको ब्याट्री कारखाना निर्माण गर्ने योजना अघि बढाइएको छ ।

तीव्र शहरीकरण, बढ्दो आम्दानी र चिनियाँ ब्रान्डका तुलनात्मक रूपमा सस्ता सवारी साधनका कारण अफ्रिकामा चिनियाँ अटो कम्पनीहरूको बजार विस्तार भइरहेको छ । यसअघि युरोपेली, जापानी र अमेरिकी कम्पनीको वर्चस्व रहेको अफ्रिकी बजारमा चिनियाँ ब्रान्डले आफ्नो उपस्थिति बढाइरहेका छन् ।

‘जिरो कार्बन एनालिटिक्स’का ऊर्जा रूपान्तरण अनुसन्धान विश्लेषक निक हेडलीले अफ्रिकाको बढ्दो जनसङ्ख्या र विस्तार हुँदै गएको मध्यम वर्गले किफायती विद्युतीय सवारीका लागि ठूलो बजार सिर्जना गर्ने बताउनुभएको छ । स्थानीय रूपमा विद्युतीय सवारीको प्रयोग बढाउँदा आयातित इन्धनमाथिको निर्भरता घटाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

‘क्रसबाउन्डरी इनर्जी’का प्रबन्ध निर्देशक टोम्बो बान्डाका अनुसार चिनियाँ कारखानाले आन्तरिक बजारको मागभन्दा बढी सवारी उत्पादन गरिरहेका छन् भने निर्यातमा पनि विभिन्न अवरोध बढिरहेका छन् । त्यसैले अफ्रिकामै उत्पादन केन्द्र स्थापना गर्नु चिनियाँ कम्पनीका लागि दीर्घकालीन लगानीको विकल्प बन्न सक्ने उहाँले बताउनुभएको छ ।

सरकारी नीतिले ईभी उत्पादनलाई प्रोत्साहन

अफ्रिकी मुलुकहरूले ऊर्जा सुरक्षा र इन्धन आयात घटाउने उद्देश्यले यातायातसम्बन्धी नीति परिवर्तन गर्न थालेका छन् । अफ्रिकी सङ्घले अपनाएको ‘हरित खनिज रणनीति’ले महत्वपूर्ण खनिजको स्थानीय प्रशोधनलाई प्राथमिकता दिएको छ । यसबाट विद्युतीय सवारीका ब्याट्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

इथियोपियाले जीवाश्म इन्धनबाट चल्ने सवारी साधनको आयातमा प्रतिबन्ध लगाउँदै स्वदेशमै एसेम्बल गरिएका विद्युतीय सवारीमा कम आयात शुल्क लगाएर स्थानीय उत्पादनलाई प्रोत्साहन गरेको छ ।

दक्षिण अफ्रिकाले विद्युतीय तथा हाइड्रोजनबाट चल्ने सवारी उत्पादनमा लगानी आकर्षित गर्न भन्सार छुट, उत्पादनमा आधारित कर सहुलियत, प्रत्यक्ष नगद लगानी र कर छुटलगायतका प्रोत्साहन उपलब्ध गराउँदै आएको छ ।

परमारका अनुसार चिनियाँ तथा अन्य एसियाली अटो कम्पनीहरूको रणनीतिमा उल्लेखनीय परिवर्तन आएको छ । उनीहरू सवारी आयातमा मात्र निर्भर नरही स्थानीय एसेम्बली र उत्पादनतर्फ अघि बढिरहेका छन् ।

बान्डाका अनुसार अफ्रिका अब आयातित सवारी साधनको बजारमा मात्र सीमित नरही उत्पादन केन्द्रका रूपमा विकास हुने सम्भावना छ । अफ्रिकी बजारमा दीर्घकालीन पहुँच चाहने कम्पनीले स्थानीयस्तरमै उत्पादन र मूल्य अभिवृद्धि गर्नुपर्ने उहाँको भनाइ छ ।

दक्षिण अफ्रिका अग्रस्थानमा

दक्षिण अफ्रिकासँग स्थापित सवारी उत्पादन उद्योग, दक्ष जनशक्ति र निर्यात बजार रहेकाले विद्युतीय सवारी उत्पादन विस्तारका लागि ऊ अग्रस्थानमा रहेको बान्डाले बताउनुभएको छ ।

रोस्लिनजस्ता विद्यमान कारखानालाई नयाँ प्रविधिअनुसार परिमार्जन गर्न सकिने भएकाले नयाँ कारखाना निर्माणभन्दा कम समय र लगानीमा उत्पादन सुरु गर्न सकिने उहाँले बताउनुभएको छ ।

यद्यपि पेट्रोल तथा डिजेलबाट चल्ने सवारी उत्पादनका लागि बनाइएका कारखानालाई विद्युतीय सवारी उत्पादनमा रूपान्तरण गर्नु जटिल हुने उहाँको भनाइ छ । लगानी आकर्षित गर्न कर, भन्सार तथा औद्योगिक नीतिमा दीर्घकालीन स्थिरता आवश्यक पर्ने उहाँले बताउनुभएको छ ।

भरपर्दो विद्युत् आपूर्ति र पर्याप्त चार्जिङ पूर्वाधारबिना विद्युतीय सवारीको विस्तार कठिन हुने बान्डाले बताउनुभएको छ । ईभी उत्पादन र प्रयोग विस्तारका लागि स्वच्छ, भरपर्दो तथा किफायती विद्युत् र पर्याप्त चार्जिङ संरचना आवश्यक रहेको उहाँको भनाइ छ । एपी

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  २०:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update