- अमेरिकी सैनिकलाई लक्षित गर्ने घोषणा ।
- मार्ने वा पक्रनेलाई ३० हजार डलर इनाम ।
- महिला भए दोब्बर इनाम दिने भनाइ ।
तेहरान । अमेरिकी सैनिकलाई मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार अमेरिकी डलर बराबरको इनाम दिने इरानी सेनाले घोषणा गरेको छ । यस्तो कार्य गर्ने महिला भए इनाम दोब्बर दिइने बताइएको छ ।
इरानी समाचार संस्था इर्नाका अनुसार इरानी सेना प्रमुख अमिर हातमीले आर्थिक सहयोगमा सहभागी हुन चाहने ठूलो सङ्ख्यामा व्यक्तिको अनुरोधपछि यस्तो योजना ल्याइएको बताउनुभएको हो ।
हातमीले अमेरिकी सैनिकलाई मार्ने वा पक्राउ गरी बुझाउने व्यक्तिलाई इरानी सेनाले ३० हजार डलर वा पाँच अर्ब तोमान बराबरको इनाम दिने बताउनुभएको छ । तर, अमेरिकी सैनिकलाई कहाँ र कहिले मार्ने वा पक्राउ गर्ने भन्नेबारे उहाँले कुनै विवरण दिनुभएको छैन ।
मध्यपूर्वमा जारी युद्धका क्रममा इरानमा अमेरिकी स्थल सेना तैनाथ रहेको जानकारी छैन । अप्रिलमा खसेका एक अमेरिकी पाइलटको उद्धारका लागि भने छोटो उद्धार अभियान सञ्चालन गरिएको थियो ।
इरानी सेनाले यस्तो घोषणा गरे पनि इरान र अमेरिकाबीचको तनाव तथा सैन्य गतिविधि जारी रहेको बताइएको छ । दुवै पक्षबीचको पछिल्लो द्वन्द्व मुख्यतः दक्षिणी इरान र हर्मुज जलमार्ग आसपास केन्द्रित रहेको छ । एएफपी
