RayNewsDaily
साउदी अरबमा सुरक्षा अधिकारीको हत्या गरेको अभियोगमा तीन जनालाई मृत्युदण्ड   

रियाद । साउदी अरबले एक सुरक्षा अधिकारीको हत्या गरेको र ‘आतङ्कवादी समूह’ खडा गरेको अभियोगमा आइतबार तीन आफ्ना नागरिकलाई मृत्युदण्ड दिएको छ ।    
    
एएफपीका अनुसार यस वर्षको सुरुदेखि अहिलेसम्म साउदी अधिकारीहरूले ५२ जनालाई मृत्युदण्ड दिइसकेका छन्, जसमा २० जना आतङ्कवादसँग सम्बन्धित अपराधमा संलग्न छन् ।    
    
साउदी अरबको गृह मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै तीनै जनाले राजधानी रियादमा एक अधिकारीको हत्या गरेको र उहाँको गाडीमा आगो लगाएर शव जलाएको जनाएको छ ।    
    
उनीहरूलाई आतङ्कवादलाई आर्थिक सहयोग गरेको र हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री राखेको अभियोगमा पनि दोषी ठहर गरिएको मन्त्रालयले जनाएको छ ।    
    
अधिकारीहरूले आइतबार रियादमा मृत्युदण्डको सजाय सुनाएको मन्त्रालयले जनाएको छ ।    
    
उक्त वक्तव्यमा प्रयोग गरिएको विधिबारे केही उल्लेख गरिएको छैन, तर राज्यले प्रायजसो टाउको छेदन गरी मृत्युदण्ड दिने गरेको छ ।    
    
यस वर्ष ‘आतङ्कवाद’का लागि सबैभन्दा बढी मृत्युदण्ड सुन्नी मुस्लिम राज्यको पूर्वी क्षेत्रमा भएको छ, जहाँ शिया अल्पसङ्ख्यक समुदायको बाहुल्यता छ ।    
    
गत महिना साउदी अरबले दुई बहराइनीलाई पनि आतङ्कवादसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिएको थियो ।    
    
साउदी अरब विश्वकै सबैभन्दा धेरै मृत्युदण्ड दिने मुलुकमध्ये एक हो ।    
    
गत वर्ष आतङ्कवादसँग सम्बन्धित अपराधमा १४७ जनालाई मृत्युदण्ड दिइएको थियो, जसमध्ये ८१ जना एकै दिन मारिएका थिए । सामूहिक मृत्युदण्डको घटनाले अन्तर्राष्ट्रिय स्तरमा आक्रोश उत्पन्न गरेको थियो ।    
    
सन् २०१५ मा राजा सलमानले सत्ता सम्हालेयता एक हजारभन्दा बढीलाई मृत्युदण्ड दिइएको बेलायतस्थित रिप्रिभ र युरोपियन साउदी अर्गनाइजेसन फर ह्युमन राइट्सले यसै वर्षको सुरुमा प्रकाशित गरेको प्रतिवेदनमा उल्लेख छ ।    

 

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update