- दक्षिण कोरियासँगको सैन्य अभ्यास रद्दपछि किमसँग संवाद सकारात्मक रहेको दाबी ।
- पहिलो कार्यकालका भेटले कोरियाली प्रायद्वीप थप सुरक्षित बनेको भनाइ ।
- इरान कारबाहीमा सहयोग नगरेको भन्दै दक्षिण कोरिया र नाटोप्रति असन्तुष्टि ।
ह्वाइट हाउस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास रद्द गर्ने निर्णयलगत्तै उत्तर कोरियाली नेता किम जोङ-अनसँग पुनः सम्पर्क स्थापित भएको सङ्केत गर्नुभएको छ । ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले किमबाट सकारात्मक जवाफ आएको र दुई नेताबीचको संवाद निकै सकारात्मक रहेको बताउनुभयो ।
आफ्नो पहिलो कार्यकालमा किमसँग तीनपटक भेटवार्ता भएको स्मरण गराउँदै ट्रम्पले उक्त सम्बन्धले कोरियाली प्रायद्वीपको अवस्थालाई अझ सुरक्षित बनाएको दाबी गर्नुभयो । दुई नेताबीचको आपसी सम्बन्धले तनाव कम गर्न मद्दत पुगेको बताउँदै उहाँले भन्नुभयो, "किम जोङ-अनले मलाई सधैँ निकै सम्मानका साथ व्यवहार गर्नुभएको छ, हामी एकअर्कालाई राम्रोसँग बुझ्छौँ ।"
यसैबीच, ट्रम्पले ट्रुथ सोसलमार्फत दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासलाई 'अनुचित र शत्रुतापूर्ण' भन्दै पेन्टागनलाई अभ्यास रद्द गर्न आदेश दिनुभएको थियो । दक्षिण कोरियामा करिब ३९ हजार अमेरिकी सैनिक तैनाथ रहे पनि इरानविरुद्धको सैन्य कारबाही र अमेरिका-इजरायल युद्धमा दक्षिण कोरिया तथा नाटो (NATO) सहयोगी राष्ट्रहरूले सहयोग नगरेको भन्दै ट्रम्पले असन्तुष्टि व्यक्त गर्नुभएको छ । एएफपी
