रे समाचार/काठमाण्डू । पाकिस्तानको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा काठमाण्डूस्थित पाकिस्तान दूतावासमा आज झण्डोत्तोलन समारोह आयोजना गरिएको छ।
समारोहमा नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले पाकिस्तानको राष्ट्रिय झण्डा फहराउनुभएको थियो। कार्यक्रममा पाकिस्तानी राजदूतावासका कर्मचारीहरु, पाकिस्तानी समुदायका सदस्यहरू, नेपाली मित्रहरू तथा पाकिस्तान दूतावासका अधिकारीहरू आफ्ना परिवारसहित सहभागी भएका थिए।

सो अवसरमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले पठाउनु भएको सन्देशमा १४ अगस्त पाकिस्तान सम्भव बनाउन गरिएका बलिदानहरूको स्मरण गर्ने दिन भएको उल्लेख गर्नुभएको छ। उहाँले कायदे आजम मोहम्मद अली जिन्नाह तथा पाकिस्तान आन्दोलनका नेता र कार्यकर्ताहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ।
राष्ट्रपति जरदारीले स्वतन्त्रता केवल ऐतिहासिक उपलब्धि मात्र नभई एउटा जिम्मेवारी पनि भएको बताउनुभएको छ। क्षेत्रीय संवादलाई सहज बनाउन पाकिस्तानले निर्वाह गरेको भूमिकालाई उहाँले उक्त जिम्मेवारीको महत्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गर्नुभएको छ। जरदारीका अनुसार व्यापक द्वन्द्वले क्षेत्र र विश्वमै गम्भीर परिणाम निम्त्याउन सक्ने अवस्थामा पाकिस्तानले आफ्ना सञ्चार माध्यम, भौगोलिक अवस्थिति तथा कूटनीतिक प्रभावकारी क्षमताको उपयोग गर्दै संवाद र तनाव न्यूनीकरणलाई प्रोत्साहन गर्दै आएको छ।

पाकिस्तानका प्रधानमन्त्री मुहम्मद शहबाज शरीफले आफ्नो सन्देशमा बाटोमा देखिएका चुनौतीका बाबजुद राष्ट्रिय विकास र समृद्धिको यात्रा उज्ज्वल भविष्यतर्फ अघि बढिरहेको बताउनुभएको छ। उहाँले पाकिस्तानका बहादुर सशस्त्र सेनाले हरेक कठिन परिस्थितिमा तथा प्रत्येक शत्रुतापूर्ण आक्रमणको प्रतिक्रियामा मातृभूमिको रक्षा अजेय रहेको प्रमाणित गरेको उल्लेख गर्नुभएको छ।
प्रधानमन्त्री शरीफले पाकिस्तानलाई राष्ट्रहरूको समुदायमा बलियो, दृढ र सम्मानित देश तथा शान्तिको शक्तिशाली पक्षधरका रूपमा प्रशंसा गरिएको बताउनुभएको छ। पाकिस्तान, साउदी अरब र टर्किएबीच भएको मक्का संयुक्त रक्षा सम्झौता (Makkah Joint Defence Agreement) लाई उहाँले सो क्षेत्रमा पाकिस्तानको प्रभावकारी भूमिका तथा उदाउँदो रणनीतिक शक्तिको प्रमाणका रूपमा उल्लेख गर्नुभएको छ।
उहाँले दक्षिण एसियामा दिगो शान्ति सम्बन्धि संयुक्त राष्ट्रसंघीय प्रस्तावहरू, अन्तर्राष्ट्रिय कानून तथा कश्मीरी जनताको आकांक्षा अनुसार जम्मु–कश्मीर विवादको कूटनीतिक समाधानमा निर्भर रहेको बताउनुभएको छ।
पाकिस्तानका उपप्रधान तथा विदेशमन्त्री महामहिम मोहम्मद इशाक डारले सन्देशमा स्वतन्त्रतापछि पाकिस्तानले एकता, आस्था र अनुशासन (unity, faith and discipline) का स्थायी सिद्धान्तबाट निर्देशित हुँदै विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभएको छ।
उहाँले स्वतन्त्रता दिवसले पाकिस्तानको सार्वभौमसत्ता, सुरक्षा र भौगोलिक अखण्डताको संरक्षण गर्ने संकल्पलाई पुनः पुष्टि गरेको बताउँदै अन्तर्राष्ट्रिय कानून, जिम्मेवार राज्य सञ्चालन तथा क्षेत्रीय शान्तिको खोजीप्रति पाकिस्तान दृढ प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ।

डारले पाकिस्तानका बहादुर सशस्त्र सेना, प्रहरी तथा अर्धसैनिक बलप्रति विशेष सम्मान व्यक्त गर्दै उनीहरूको साहस, व्यावसायिकता र अटल प्रतिबद्धता राष्ट्रिय सुरक्षाको महत्वपूर्ण आधारका रूपमा रहेको बताउनुभएको छ।
समारोहमा सम्बोधन गर्दै नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले सन् १९४७ को ऐतिहासिक संघर्ष तथा राष्ट्रका पूर्वजहरूले गरेको बलिदानप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो।
राजदूत खानले पश्चिम एसियामा तनाव घटाउन पाकिस्तानले निर्वाह गरेको कूटनीतिक भूमिकाले विश्वस्तरमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्नुभयो। उहाँले शान्ति र प्रगतिप्रति पाकिस्तानको प्रतिबद्धता पुनः दोहोर्याउँदै कुनै पनि चुनौतीको सामना गर्दा राष्ट्र एकजुट भएर उभिने बताउनुभयो।
राजदूत खानले नेपाल र पाकिस्तानबीच शताब्दीयौँ पुरानो सभ्यतागत सम्बन्ध, ऐतिहासिक सम्बन्ध तथा साझा मूल्यमा आधारित भएको उल्लेख गर्नुहुँदै थप सुदृढ कूटनीतिक तथा आर्थिक द्विपक्षीय सम्बन्ध निर्माण गर्न पाकिस्तान दृढ रूपमा तयार रहेको पनि बताउनुभयो।
