RayNewsDaily
पत्रकार किशोर श्रेष्ठ पक्राउ र सञ्चारमाध्यममा खानतलासीप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण

रे समाचार/काठमाडौँ । प्रेस काउन्सिल नेपालले आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ परेको र उनको निजी निवासमा खानतलासी गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले सञ्चारमाध्यममा हातहतियारसहित प्रवेश गरी कम्प्युटरसहितका सामग्री जफत गरिएको घटनाप्रति पनि चासो व्यक्त गरेको छ ।

काउन्सिलले आज जारी गरेको प्रेस विज्ञप्तिमा श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पक्राउ गरी निजी निवासमा खानतलासी गरिएको उल्लेख छ । त्यसैगरी बिहीबार बिहान सञ्चारमाध्यमको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरसहितका सामग्री जफत गरिएको जनाइएको छ ।

प्रेस काउन्सिलले पत्रकार तथा सञ्चारमाध्यमविरुद्ध आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी लिने, छानबिन गर्ने र आवश्यकताअनुसार कारबाही तथा सचेत गराउने व्यवस्था रहेको स्पष्ट पारेको छ । आचारसंहिता उल्लङ्घन भए खण्डन प्रकाशन वा प्रसारण, भूलसुधार तथा क्षमायाचनाका लागि निर्देशन दिनेदेखि प्रेस प्रतिनिधि प्रमाणपत्र वा प्रेस पास निलम्बनका लागि सम्बन्धित निकायलाई निर्देशन दिनेसम्मका व्यवस्था रहेको काउन्सिलले जनाएको छ ।

गम्भीर रूपमा आचारसंहिता उल्लङ्घन गर्ने पत्रकार तथा सञ्चारमाध्यममाथि थप कारबाहीका लागि नेपाल पत्रकार महासङ्घ र सम्बन्धित सञ्चार संस्थालाई सिफारिस गर्न सक्ने व्यवस्था पनि रहेको काउन्सिलले जनाएको छ । काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार तथा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने तथा पटक-पटक गरिएका कारबाही सार्वजनिक गर्नेसम्मको प्रक्रिया रहेको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले नागरिकको सूचनाको हकको प्रत्याभूति प्रेस स्वतन्त्रताबाट हुने भएकाले प्रेसको मर्यादा कायम राख्नु सबैको कर्तव्य भएको जनाएको छ । प्रेस स्वतन्त्रताको सम्मान र सदुपयोगसँगै पत्रकार तथा सञ्चारकर्मीले व्यावसायिक मर्यादा, सत्य, तथ्य, सन्तुलित र विश्वसनीय पत्रकारिताप्रति सजग हुनुपर्नेमा पनि काउन्सिलले जोड दिएको छ ।

कुनै समाचारको विषयमा चित्त नबुझेमा काउन्सिलको क्षेत्राधिकारभित्र रहेर उजुरी गर्न सकिने भन्दै काउन्सिलले सम्बन्धित सबै पक्षलाई त्यस्तो प्रक्रियाको उपयोग गर्न आग्रह गरेको छ ।

council-about-kishor-1786619705.png
 

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update