RayNewsDaily
निर्मल लामा असल राजनीतिज्ञ : प्रधानमन्त्री   

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी नेता निर्मल लामा एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो भन्नुभएको छ ।    
आज बिहान माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २४ औँ स्मृति दिवसमा प्रधानमन्त्रीले सो कुरा बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।    
    
नेता लामालाई सम्झदै प्रधानमन्त्रीले भन्नुभयो, “निर्मल लामा नेपाली कम्युनिस्ट आन्दोलनको एक प्रेरणादायी व्यक्तित्व हो । मुख्यतः २०३३/०३४ सालतिर नेपालमा जनवादी क्रान्तिको बहसका सन्दर्भमा उहाँले प्रस्तुत गर्नुभएको विचार महत्वपूर्ण छन् । कम्युनिस्ट आन्दोलनको विकास र रणनीति एवं कार्यदिशामा उहाँ आदर्श नेता हुनुहुन्थ्यो ।”    
    
प्रधानमन्त्रीले निर्मल लामाको जीवनबाट नेपालका कम्युनिस्ट नेताहरूले प्रेरणा लिएका बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँ पारदर्शी नेता हुनुहुन्थ्यो, खुला हुनुहुन्थ्यो, आफ्नो निष्ठामा दृढ र गरिखाने वर्गप्रति प्रतिबद्ध हुनुहुन्थ्यो । राम्रो विचार र स्पष्टवक्ता हुनुहुन्थ्यो । समग्रमा उहाँ एक असल राजनीतिज्ञ हुनुहुन्थ्यो ।”    
    
त्यस अवसरमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू नेता लामाको योगदानबारे चर्चा गर्नुभएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १४:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update