RayNewsDaily
शेयर बजार सामान्य वृद्धि

रे समाचार/काठमाडौं । पछिल्ला ३ कारोबार दिनदेखि घटिरहेको शेयर बजार आज भने सामान्य अंक बढेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज २.०६ अंक बढेर १९६०.८१ विन्दुमा पुगेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन २ अर्ब ८९ करोडको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब १४ करोड ५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज लघुवित्त कम्पनीहरूमा लगानीकर्ताहरूको आकर्षण देखिएको छ ।

शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरूको सूचीमा ९ वटा लघुवित्त कम्पनी रहेका छन्, जसमध्ये हिमालयन लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, इन्फिनिटी लघुवित्तको शेयरमूल्य करिब साढे ८ प्रतिशतले वृद्धि भएको छ भने समता घरेलु लघुवित्तको शेयरमूल्य करिब साढे ७ प्रतिशतले बढेको छ । बोटलर्स नेपाल (तराई) को शेयरमूल्य आज सर्वाधिक ६.२३ प्रतिशत घटेको छ ।

अधिकांश लघुवित्त कम्पनीहरूको शेयरमूल्य बढेसँगै लघुवित्त उपसमूहको परिसूचक आज अरु उपसमूहको तुलनामा उच्च दरमा बढेको छ । सो उपसमूहको परिसूचक आज सर्वाधिक २.४३ प्रतिशतले वृद्धि भएको छ । विकास बैंक, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक भने आज सामान्य बढेको छ । वित्त र व्यापार उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढीले घटेको छ ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको आज ८ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, आरएसडिसी लघुवित्तको साढे ६ करोडको शेयर कारोबार भएको छ भने हिमालयन लघुवित्तको कारोबार रकम ५ करोड नाघेको छ ।
 

प्रकाशित मिति: मंगलबार, वैशाख २५, २०८१  १५:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update