RayNewsDaily
शेयर बजार र कारोबार दुवै घट्यो

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको अन्तिम कारोबार दिन घटेर बन्द भएको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक २४.५८ अंक घटेर १९७४.३७ विन्दु झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज दोल्टी पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ९.५६ प्रतिशत बढेको छ । त्यस्तै, साधना लघुवित्त र समता लघुवित्तको शेयरमूल्यय ८७२ प्रतिशत बढेको छ ।

पिपुल्स पावरको शेयरमूल्य आज सर्वाधिक ९.९२ प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा आज नेपाल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको १२ करोड ६४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, हिमालयन डिष्ट्रिलरीको करिब १२ करोडको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको कारोबार रकम साढे ११ करोड नाघेको छ ।

१३ उपसमूहमध्ये आज दुईवटा उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । आज लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य अंकले बढेको छ । विकास बैंक, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक आज २ प्रतिशतभन्दा बढीले घटेको छ भने बैंकिङ्ग, होटल तथा पर्यटन, जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचकमा १ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update