RayNewsDaily
शेयर बजार घट्यो

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचकमा आज ७.३१ अंकको गिरावट आई नेप्से १९९८.९६ विन्दुमा झरेको छ ।

अघिल्लो कारोबार दिन ४ अर्ब ७५ करोडको कारोबार भएकोमा आज केही कमी आई ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार रुपियाँको शेयर किनबेच भएको छ । आज लगानीकर्ताहरू लघुवित्त कम्पनीहरुतर्फ आकर्षित भएकाले यो उपसमूहको परिसूचक वृद्धि भएको छ । १३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक घटेको छ । 

आज शेयरमूल्य बढेका १० शीर्ष कम्पनीहरुको सूचीमा ९ लघुवित्त कम्पनी रहेका छन् । जसमध्ये तीन लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । समता लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, विजय लघुवित्तको शेयरमूल्य ९.७१ प्रतिशतले वृद्धि भएको छ भने आरएसडिसी लघुवित्तको शेयरमूल्य ८.७१ प्रतिशतले बढेको छ । पिपुल्स पावरको शेयरमूल्य भने आज सर्वाधिक ८.२१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको २८ करोड ७७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ भने पोखरा फाइनान्सको २१ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update