RayNewsDaily
चिनियाँ सुरक्षा मञ्जुरी प्राप्त गरेपछि टेस्ला प्रमुख मस्क बेइजिङबाट प्रस्थान       

पैचिङ । आफ्नो कम्पनीलाई चिनियाँ अधिकारीहरूबाट महत्त्वपूर्ण तथ्याङ्क सुरक्षा मञ्जुरी प्राप्त भएपछि अर्बपति एवं टेस्लाका प्रमुख कार्यकारी (सिइओ) एलन मस्क सोमबार पैचिङबाट प्रस्थान गर्न एक विमानमा सवार हुनुभएको एएफपीका पत्रकारले बताएका छन् ।    
    
एक वर्षभन्दा पनि कम समयमा आफ्नो दोस्रो चीन भ्रमणका क्रममा आइतबार मस्क पैचिङ पुग्नुभएको थियो । विश्वको सबैभन्दा ठूलो विद्युतीय कार बजार चीनमा आफ्नो कम्पनीको भाग्य बढाउनका लागि काम गर्न उहाँले प्रधानमन्त्री ली छयाङसहित शीर्ष अधिकारीहरूसँग भेट गर्नुभएको थियो ।    
     
सोही दिन चीनको तथ्याङ्क सुरक्षा आवश्यकतारू पूरा गर्ने टेस्लाको स्थानीयरूपमा उत्पादित मोडेलहरू विद्युतीय सवारीहरूमा सूचीबद्ध भएका छन् । मस्क दिउँसो एक बजे पैचिङ क्यापिटल विमानस्थलमा आफ्नो निजी जेटमा सवार हुनुभएको थियो ।    
    
ब्लुमबर्गका अनुसार अमेरिकी विद्युतीय कार कम्पनी टेस्ला नक्सा र नेभिगेसन सुविधाहरूका लागि टेक टाइटन बाइडुसँग मिलेर चीनमा आफ्नो सहायक ड्राइभिङ प्रविधिको उपयोग गर्नका लागि सरकारको स्वीकृति नजिक पुगेको छ ।    
    
बिवाइडीजस्ता घरेलु कम्पनीहरूसँग तीव्र प्रतिस्पर्धा गरे पनि टेस्ला चीनमा सबैभन्दा धेरै बिक्री हुने विद्युतीय सवारीमध्ये एक बनेको छ । यद्यपि उसले कडा तथ्याङ्क र गोपनीय कानूनको पालना गर्न आवश्यक ‘फुल सेल्फ ड्राइभिङ (एफएसडी)’ जस्ता सुविधाहरूका साथ आफ्नो बिक्रीलाई बढाउन कोसिस गरिरहेको छ ।    
    
चाइना एसोसिएसन अफ अटोमोबाइल्स मेनुफेक्चरर्स (सिएएएम) ले सन् २०२३ नोभेम्बरदेखि राष्ट्रिय कम्प्युटर सुरक्षा नियामकसँग मिलेर सवारी साधनको व्यक्तिगत जानकारी र कारको बाहिरी मुखाकृतिको रेकर्डिङलगायत कसरी तथ्याङ्क सङ्कलन र प्रशोधन गर्ने भन्नेबारे परीक्षण गरेको बताएको छ ।    
    
“तीमध्ये छ कम्पनी (बिवाइडी, ली अटो, लोटस, होजोन अटो, टेस्ला र एनआइओ) का ७६ मोडलले अटोमोटिभ तथ्याङ्क सुरक्षाका चार अनुपालन आवश्यकताहरू पूरा गर्दछन्”, सिएएएमले विज्ञप्तिमा भनेको छ ।    
    
साङ्घाईको विशाल कारखानामा निर्मित टेस्लाको मोडल३ र मोडल वाइ सूचीमा थियो । कम्पनीको उन्नत सहायक ड्राइभिङ सुविधाले उसका कारहरूलाई पूर्णरूपमा स्वायत्त बनाउँदैन र टेस्लाले उसको अटोपाइलट र एफएसडी क्षमताहरूको प्रयोग ड्राइभरको सुपरीवेक्षणमा प्रयोग गर्नका लागि भएको बताएको छ । कम्पनीले एफएसडी अमेरिकामा आठ हजार डरल वा मासिक ९९ डलरको सदस्यतामा बिक्री गर्दछ ।    
    
चीनमा एफएसडी र बाइडुसँग कथित साझेदारीका बारेमा एएफपीले गरेको प्रश्नमा टेस्लाले तत्काल जवाफ दिएको छैन । यसै महिनाको प्रारम्भमा आफ्नो सामाजिक सञ्जाल एक्समा एक प्रश्नको जवाफमा मस्कले चीनमा एफएसडीको उपलब्धता ‘चाँडै नै सम्भव हुनसक्ने’ बताउनुभएको थियो ।  एएफपी

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update