RayNewsDaily
शेयर बजारमा दोहोरो अंकको वृद्धि

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार ३.२४ अंक घटेर बन्द भएको शेयर बजार मापक नेप्से आज भने दोहोरो अंक बढेर बन्द भएको हो ।

आज नेप्से परिसूचक १४.३३ अंक बढेर १९८०.२७ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । गत बिहीबार २ अर्ब ३६ करोडको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज पोखरा फाइनान्सको शेयरमूल्य सर्वाधिक ९.८४ प्रतिशत बढेको छ । त्यसैगरी, प्रोग्रेशिभ फाइनान्सको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र बेष्ट फाइनान्सको शेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । रिभरफल्स पावरको शेयरमूल्यमा भने सर्वाधिक ४.६३ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज पोखरा फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको १३ करोड ५ लाख रुपैयाँब राबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, मल्टीपर्पस फाइनान्सको करिब ११ करोडको शेयर किनबेच भएको छ भने पिपुल्स पावरको करिब १० करोडको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.९८ प्रतिशत बढेको छ । विकास बैंक उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । व्यापार उपसमूहको परिसूचकमा भने ०.३४ प्रतिशतले गिरावट आएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update