RayNewsDaily
पाँच दिनपछि शेयर बजारमा वृद्धि

रे समाचार/काठमाडौं । साताको पहिलो कारोबार दिन आज शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि ओरालो लागिरहेको शेयर बजार मापक नेप्से आज भने दोहोरो अंकले बढेर बन्द भएको हो ।

आज नेप्से परिसूचक १२.२९ अंक बढेर १९८४.४३ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन २ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज दोल्ती पावरको शेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशत बढेको छ । त्यस्तै, एनआईसी एशिया लघुवित्तक र रुरु जलविद्युत परियोजनाको मूल्य ८ प्रतिशतभन्दा बढीले र अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । पिपुल्स पावरको शेयर मूल्यमा भने सर्वाधिक ७.४६ प्रतिशतको गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको १० करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सर्वोत्तम सिमेन्टको करिब ९ करोडको शेयर किनबेच भएको छ भने पिपुल्स पावरको ७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.९० प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक र जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । बैंकिङ्ग र म्युचुअल फण्ड उपसमूहको परिसूचक भने घटेको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १५:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update