RayNewsDaily
शेयर बजारमा लगातार गिरावट

रे समाचार/काठमाडौंं । साताको दोस्रो कारोबार दिन आज पनि शेयर बजार घटेरै बन्द भएको छ । गत साताको अन्तिम कारोबार दिनदेखि घट्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

आज नेप्से परिसूचक १६.८२ अंक घटेर २००६.५२ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ३ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँ बराबरको ७२ लाख २३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । आज दुई वटा स्टकको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुराँस लघुवित्त वित्तीय संस्था र दोल्ती पावरको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, खानीखोला हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत घटेको छ । 

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १७ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, सिवाईसि नेपाल लघुवित्तको साढे ७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सानिमा माई हाइड्रोपावरको करिब ७ करोडको शेयर कारोबार भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । घटेकामध्ये वित्त उपसमूहको परिसूचकमा सर्वाधिक १.६४ प्रतिशतको गिरावट आएको छ । त्यस्तै, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update