RayNewsDaily
सभामुख घिमिरेद्वारा संसद अधिवेशनका उपलब्धि पर्याप्त नभएको स्वीकार 

काठमाडौं ।  प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनमा कानून निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताउनुभएको छ । 

सभामुख घिमिरेले आज  प्रतिनिधिसभाको बैठकमा हिउँदे अधिवेशनमा कानून निर्माण र जनताको मुद्दालाई सम्बोधन गर्ने विषयमा विगतका दुई वटा अधिवेशनभन्दा तुलनात्मक रुपमा उपलब्धि पूर्ण रहेको आफूले ठाने पनि पर्याप्त नभएको स्वीकार गर्नुभएको हो । उहाँले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयको आधारमा आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखी हुने विश्वास समेत व्यक्त गर्नुभयो । न्यूज एजेन्सी नेपालका अनुसार संसद जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुने उल्लेख गर्दै सभामुख घिमिरेले त्यसमा हुने बिरोध र बहसलाई पनि स्वाभाविक रुपमा लिनुपर्ने स्पष्ट पार्नुभयो । 

त्यस अवसरमा सभामुख घिमिरेले संसदको हिउँदे अधिवेशन (तेस्रो अधिवेशन) लाई प्रभावकारी बनाउन भूमिका निर्वाह गर्नुहुँने सबै सांसद, संसद सचिवालयका अधिकारीलगायत संवद्ध सबै पक्षप्रति आभार पनि व्यक्त गर्नुभयो ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update