RayNewsDaily
दुई दिन बिदाको व्यवस्था पुनरवलोकन गर्न राष्ट्रियसभा सदस्यको माग
  • सातामा दुई दिन बिदाले सेवा प्रवाहमा अपेक्षित सुधार नआएको गुनासो ।
  • भोटेकोशी बाढीलाई जलवायु कूटनीतिमार्फत अन्तर्राष्ट्रिय मञ्चमा उठाउन माग ।
  • ग्यासको कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारसँग आग्रह ।

काठमाडौँ । राष्ट्रियसभा सदस्यहरूले सातामा दुई दिन बिदा र पाँच दिन मात्र कार्यालय सञ्चालन गर्ने व्यवस्थाले सेवा प्रवाहमा अपेक्षित सुधार नदेखिएको भन्दै पुनरवलोकन गर्न माग गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गानाले दिनमा एक घण्टा कार्यालय समय बढाए पनि सेवा प्रवाहमा उल्लेख्य सुधार नआएको तथा कर्मचारीको जीवनयापनमा समस्या भएको गुनासो आएकाले विद्यमान व्यवस्थाको पुनरवलोकन गर्न माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाह (गरिमा)ले भोटेकोशी बाढीको विषयलाई जलवायु कूटनीतिमार्फत अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की मीनासिंह रखालले खाना पकाउने ग्यासको कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो ।

नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले विद्युत् सेवामा मूल्य अभिवृद्धि कर लगाउन नहुनेमा जोड दिनुभयो ।

नेपाली कम्युनिष्ट पार्टीकी राजेन्द्रलक्ष्मी गैरेले बुटवल–पाल्पा सडकखण्डमा निरन्तर दुर्घटना भई मानवीय क्षति भइरहेकाले सडकको अवस्था सुधार गर्न माग गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सोमनाथ पोर्तेलले विपत्तिका बेला सबै पक्ष एकताबद्ध भएर राहत तथा उद्धारमा जुट्नुपर्ने बताउनुभयो । रासस

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update