RayNewsDaily
शेयर बजारमा सामान्य अंकको गिरावट

रे समाचार/काठमाडौं । २०८१ सालको पहिलो कारोबार दिन आज शेयर बजार सामान्य अंक घटेर बन्द भएको छ । साताको पहिलो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक २.३५ अंक घटेर २०२३.३५ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ । अघिल्लो कारोबार दिन करिब साढे ३ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ६ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से घटे पनि आज सिर्जनशील लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, एनआईसी एशिया लघुवित्त, दोल्ती पावर र राप्ती हाइड्रो एण्ड जनसल कन्स्ट्रक्सनको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

कारोबार रकमका आधारमा आज सानिमा माई हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २१ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै, पोखरा फाइनान्सको ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको कारोबार रकम १० करोड नाघेको छ ।

१३ उपसमूहमध्ये आज ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । लघुवित्त उपसमूहको परिसूचक आज सर्वाधिक १.९१ प्रतिशत बढेको छ भने वित्त उपसमूहको परिसूचक १.०४ प्रतिशत बढेको छ । निर्जीवन बीमा उपसमूहको परिसूचकमा आज सर्वाधिक १.०३ प्रतिशतले गिरावट आएको छ ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update