RayNewsDaily
एमाले खोटाङको अध्यक्षमा देवविक्रम राई     

खोटाङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङको अध्यक्षमा देवविक्रम राई विजयी हुनुभएको छ । शुक्रबार साँझ सम्पन्न आठौँ जिल्ला अधिवेशनले उहाँलाई चयन गरेको हो ।    

अध्यक्षमा विजयी राईले तीन सय ३९ मत प्राप्त गर्नुभएको थियोभने उहाँका निकटतम प्रतिद्वन्द्वी रामप्रसाद दङ्गालले एक सय ८७ मत पाउनुभएको प्रमुख निर्वाचन अधिकृत लालप्रसाद घिमिरेले बताउनुभएको छ । दिक्तेल रुपाकोट मझुवाढी नगरपालिका–१४ बुइपा निवासी राई सातौँ जिल्ला अधिवेशनमा उपाध्याक्ष निर्वाचित हुनुभएको थियो ।    
    
पार्टीको जिल्ला उपाध्यक्षमा कुमार आचार्य तीन सय ५८ मतसहित विजयी हुनुभएको छ । पाँच पदाधिकारीसहित ९० जनाको कार्यसमिति सचिवमा सुरेन्द्रकुमार राई यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।    
    
एक उपसचिवका लागि सातजनाबीच भएको प्रतिस्पर्धामा राजन बञ्जरा विजयी हुनुभएको छ । समावेशी उपसचिवमा कविता राई विजयी हुनुभएको छ । आदिवासी जनजाति कोटामा जुद्धबहादुर पुलामीमगर चुनिनु भएको छ ।    
    
यसैगरी, एकजना दलित कोटाका लागि भएको निर्वाचनमा रमेश परियार ‘प्यासी’ दुई सय ११ मतसहित विजयी हुनुभएको छ । दलित कोटामा चारजनाको प्रतिस्पर्धा भएको थियो । दलित महिला कोटामामा रेखा रम्तेल एक सय ५० मत ल्याएर विजयी हुनुभएको छ । उक्त कोटामा तीनजनाको प्रतिस्पर्धा भएको थियो ।    
    
खुला महिला कोटामा कुसुम राई, प्रतिमा बिष्ट (पौडेल), पुण्यकुमारी मगर र हीराकुमारी वन (गिरी) विजयी हुनुभएको छ । खुला कोटामा अनिश कार्की, अषिश राई, जगत राई, लोकेन्द्र राई र सनमान खड्का विजयी हुनुभएको छ । पाँच जनाको कोटामा १७ जनाको प्रतिस्पर्धा भएको निर्वाचन समितिले जनाएको छ । रासस   
 

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update