RayNewsDaily
पाकिस्तानमा ट्रक दुर्घटना, १७ जनाको मृत्यु, ३५ घाइते   

इस्लामावाद । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको हब जिल्लामा भएको ट्रक दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै ३५ जना घाइते भएको स्थानीय उद्धार सेवाले बिहीबार पुष्टि गरेको छ ।    
    
हब जिल्लाको गुलाम हुसेन चत्ता क्षेत्रमा धार्मिक तीर्थयात्रीहरू बोकेको ट्रक बुधबार राति दुर्घटनामा परेको उद्धार सेवाका स्थानीय प्रतिनिधि अब्दुल हकिमले जानकारी दिनुभयो ।    

accident truck1712824284.jpg
    
उच्च गतिका कारण चालकले गाडीको नियन्त्रण गुमाउँदा उक्त घटना भएको पनि हकिमले घाइतेको भनाई उद्धृत गर्दै बताउनुभयो ।    
    
दुर्घटनाको जानकारी पाएलगत्तै उद्धारकर्मीहरू घटना स्थलमा पुगी घाइतेहरूको उद्धार गरी स्थानीय अस्पतालमा लगेका थिए । कतिपय गम्भीर घाइतेलाई थप उपचारका लागि दक्षिणी बन्दरगाह शहर कराँची लगिएको छ । तीर्थयात्री बोकेको ट्रक सिन्ध प्रान्तको थट्टा जिल्लाबाट बलुचिस्तानको खुजदार जिल्लातर्फ जाँदै थियो ।    
    
सवारी साधनको मर्मतसम्भारमा लापरवाही, भत्किएका सडक र सडक सुरक्षामा लापरवाहीका कारण पाकिस्तानमा बर्सेनि ठूलो संख्यामा सवारी दुर्घटना हुने गरेका छन् । सिन्ह्वा   

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update