RayNewsDaily
चीनका राष्ट्रध्यक्ष सी र ताइवानका पूर्वनेता माबीच भेटवार्ता       

बेइजिङ । चीनका राष्ट्रध्यक्ष  सी चिनफिङ र ताइवानका पूर्वराष्ट्रपति मा यिङ-जेउबीच आज बेइजिङमा भेटवार्ता भएको छ ।    
    
“राष्ट्रपति सीले बेइजिङमा मा नेतृत्वको प्रतिनिधिमण्डलसँग भेटवार्ता गर्नुभएको छ,” चीनको सरकारी प्रसारक सिसिटिभीले आफ्नो समाचारमा जनाएको छ ।    
    
बेइजिङ र ताइपेइमा उहाँहरूबीच दुर्लभ भेट भएको छ र यो सन् २०१५ मा सी र माबीच भएको ऐतिहासिक ‘क्रस स्ट्रेट’ शिखर बैठकपछि पहिलो बैठक हो ।    
    
ताइवानलाई आफ्नो भूभाग दाबी गर्ने र स्वशासित टापुलाई आफ्नो नियन्त्रणमा ल्याउन बल प्रयोग गर्न कहिल्यै नछोडेको बेइजिङसँगको तनाव शान्त पार्न पूर्व राष्ट्रपति मा ‘शान्तिको यात्रा’ का लागि अप्रिल १ मा चीन आउनुभएको थियो ।    
    
उहाँले २० जना ताइवानी विद्यार्थीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीनका प्रविधि फर्म, विश्वविद्यालय र ऐतिहासिक स्थलको भ्रमण गर्नुभएको छ ।    
    
माले प्रस्थान गर्नुअघि युवा आदानप्रदानलाई बढावा दिने र बेइजिङसँगको ‘तनाव कम गर्नु र सद्भाव बढाउनु’ भ्रमणको उद्देश्य रहेको बताउनुभएको छ ।    
    
माले कुओमिन्ताङ (केएमटी) पार्टीको प्रतिनिधित्व गर्दै सन् २००८ देखि २०१६ सम्म ताइवानको नेताको रूपमा दुई कार्यकाल सम्हाल्नुभएको थियो ।    
    
माले सन् २०१५ मा सिङ्गापुरमा सीसँग ऐतिहासिक शिखर वार्ता गर्नुभएको थियो ।    
    
तर सन् २०१६ मा बेइजिङको दाबीलाई अस्वीकार गर्ने उहाँका उत्तराधिकारी साई इङ-वेनको निर्वाचनपछि चीन ताइवानबीचको सम्बन्ध चिसिएको छ ।    
    
गत जनवरीमा चीनप्रति बढी आक्रामक मानिने ताइवानी नेता लाइ चिङ-तेको निर्वाचनले सीमापार सम्बन्धमा थप तनाव आएको छ र बेइजिङले उहाँलाई ‘खतरनाक पृथकतावादी’ को संज्ञा दिएको छ । एएफपी

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update