RayNewsDaily
शेयर बजारमा १० अंकको गिरावट

रे समाचार/काठमाडौं । पछिल्ला दुई कारोबार दिन निरन्तर बढेको शेयर बजारमा आज १० अंकको गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १०.३० अंक घटेर २०२५.७० विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्बभन्दा बढीको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज माण्डु हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९.६९ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी, खानीखोला हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी वृद्धि भएको छ भने गुराँस लघुवित्तको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ । सिंगटी हाइड्रोपावर र विन नेपाल लघुवित्तको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । 
कारोबार रकमका आधारमा आज हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १२ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, गोर्खाज फाइनान्सको कारोबार रकम ११ करोड नाघेको छ भने नेपाल फाइनान्स र पोखरा फाइनान्सको करिब १० करोडको शेयर किनबेच भएको छ । १३ उपसमूहमध्ये आज दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । आज व्यापार उपसमूहको परिसूचक १.४६ प्रतिशत बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.१३ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक भने आज सर्वाधिक २.५० प्रतिशतले घटेको छ । विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update