RayNewsDaily
भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा एक सयभन्दा बढी उडान रद्द   

सिड्नी । अष्ट्रेलियाको न्यु साउथ वेल्समा भारी वर्षाका कारण सिड्नी एयरपोर्टमा १०० भन्दा बढी उडान रद्द भएका छन् ।    
    
वर्षाका कारण पाँच वटा अन्तर्राष्ट्रिय उडान तथा १०९ वटा घरेलु उडान रद्द भएका हुन् । बर्ष र बाढीको प्रकोप बढ्दै गएकाले आगामी केही घन्टाहरूमा रद्द भएका उडानको सङ्ख्या बढ्ने देखिएको छ ।    
    
सिड्नी विमानस्थलका प्रवक्ताले स्थानीय सञ्चारमाध्यमलाई बाढी आएपनि रनवेहरू खुला रहेको पुष्टि गर्नुभयो, तर यात्रुहरूले समय बित्दै जाँदा थप ढिलाइ हुने विषयमा विश्वस्त देखिन्छन् ।    
    
प्रवक्ताले आँधीबेहरीका कारण केही उडान रद्द र केहीमा ढिलाइ भएको बताउदै यात्रुहरूलाई उडानको स्थितिबारे सम्बन्धित एयरलाइन्ससँग सम्पर्कमा रहन आग्रह गर्नुभयो । न्यु साउथ वेल्स क्षेत्रमा रातारात तीव्र र व्यापक वर्षा भएपछि सिड्नीमा सबैभन्दा बढी क्षति भएको छ ।    
    
स्थानीय मौसम सेवा प्रदायक ‘वेदरजोन’को तथ्याङ्कले सिड्नीमा शुक्रबार बिहानसम्म २४ घण्टामा १११ मिलिमिटरको वर्षाको साथ पूर्ण डुबानको सामना गरेको थियो ।    
    
गम्भीर मौसमी प्रभावले ११ वटा रेल लाइनहरू जोड्ने यातायात केन्द्र ‘रेडफर्न स्टेसन’मा उपकरणमा क्षति पुग्दा रेल सेवासमेत प्रवावित भएको छ । रेडफर्नमा मौसमले उपकरणलाई क्षति पुगी विमानको उडानमा ढिलो भएका कारण रेलहरू समेत निर्धारित समयमा सेवा दिन सकेका छैनन् । मौसम प्र्रतिकुल नहुँदासम्म हवाई तथा रेल सेवामा ढिलाइ र अवरोध जारी रहने सूचना गरिएको न्यु साउथ वेल्सको सरकारी सडक तथा यातायात कार्यालयले सामाजिक सञ्जालमार्फत उल्लेख गरेको छ ।    
    
अस्ट्रेलियाको मौसम विभाग (बिओएम) को पूर्वानुमान अनुसार अझै थप वर्षा हुने सम्भावना बाँकी छ । इलावारा एस्कार्पमेन्ट र ग्रेटर सिड्नी क्षेत्रका भित्री भागहरूमा पनि भारीमात्रामा वर्षा हुने सम्भावना छ । उक्त क्षेत्रमा तीन सय मिलिमिटरसम्म वर्षा भएको आँकलन गरिएको छ ।    
    
गम्भीर आँधीबेहरीको सम्भावना देखिएकाले शक्तिशाली आँधी र तीव्र हावाका साथ स्थानीय आकस्मिक बाढी र पानीको छेउमा धेरै खतरनाक अवस्था निम्त्याउन सक्ने बिओएम मौसमविद् एङ्गस हाइन्सले बताउनुभएको छ ।    
    
विभागले बाढी आउनसक्ने र डुबान हुनसक्ने सिड्नी महानगर, इलावारा र अन्य पाँच वटा पूर्वानुमानित जिल्लाहरूका मानिसहरूलाई सतर्क रहन आग्रह गर्दै कडा मौसमी चेतावनी पनि जारी गरेको छ । सिन्ह्वा   

 

प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८०  १९:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update