RayNewsDaily
शेयर बजार घट्यो, कारोबार बढ्यो

रे समाचार/काठमाडौं । पछिल्ला चार कारोबार दिनदेखि निरन्तर घटिरहेको शेयर बजार आज पनि घटेरै बन्द भएको छ । साताको अन्तिम कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक २.७३ अंक घटेर २००४.०५ विन्दुमा झरेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो साढे २ अर्बको शेयर खरिदबिक्री भएकोमा आज ३ अर्ब ३ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । आज पनि बजारमा लघुवित्त कम्पनीहरूमा लगानीकर्ताहरूको आकर्षण कायमै रहेको देखिन्छ । शेयरमूल्य बढेका शीर्ष १० कम्पनीहरूको सूचीमा आज पनि ९ लघुवित्त कम्पनीहरू रहेका छन् । जसमध्ये मानुषी लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गुराँस लघुवित्त र तारागाउँ रिजेन्सी होटल्सको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव सहित साधारण सभा बोलाएको पिपुल्स पावरको शेयरमूल्यमा आज सर्वाधिक ७.२४ प्रतिशतको गिरावट आएको छ ।

१३ उपसमूहमध्ये आज ५ वटा उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढेको छ । यसैगरी, होटल तथा पर्यटन उपसमूहको परिसूचक १.६७ प्रतिशतले वृद्धि भएको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने सर्वाधिक १.६१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो फाइनान्सको २३ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । यसैगरी, शिवम् सिमेन्ट्स र सर्वोत्तम सिमेन्टको १८ करोडभन्दा बढीको शयर खरिदबिक्री भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update