लण्डन । दोस्रो संस्करणको आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेलमा आज भारत र अष्ट्रेलिया खेल्दैछन् । फाइनलमा खेल दिउँसो सवा ३ बजेदेखि इंग्ल्यान्डको द ओभलमा सुरु हुँदैछ ।
भारतको कप्तानी रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले गर्दै हुनु हुन्छ । दुबै टोली पहिलो पटक टेस्ट च्याम्पियनसिपको उपाधि जित्ने योजनामा छन् । पहिलो संस्करणको फाइनलमा भारत न्युजिल्यण्डसँग पराजित भएको थियो । अष्ट्रेलियाले भने पहिलो पटक च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो ।
फाइनलमा विराट कोहली, महोमद शमी र रविन्द्र जडेजाको तीनैजनालाई भारतको प्रमुख अस्त्रको रुपमा लिइएको छ । इंग्लिस भूमिमा तीनै जना भारतका उत्कृष्ट प्रदर्शनकर्ता हुन् । अर्कातर्फ अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथको इंग्लिस पिचमा प्रदर्शन अचम्मको रहदै आएको छ । स्मिथले त्यहाँ हरेक तेस्रो खेलमा शतक प्रहार गर्ने अचम्मको कीर्तिमान स्थापित गर्नु भएको छ । डेभिड वार्नरले पनि १३ खेलमा ६सय ५१ रन बनाउनु भउको छ । बलिङमा नाथन लियोनले १३ खेलमा ४५ विकेट लिनु भएको छ ।
भारत र अष्ट्रेलियाबीच हालसम्म कुल १ सय ६ टेस्ट म्याच खेलिएका छन् । जस मध्य अस्ट्रेलियाले ४४ र भारतले ३२ खेल जितेको छ । २९ खेल बराबरी र एक रद्द भएको छ ।
ओभलको पिचलाई बाउन्स पिचको रुपमा लिने गरिन्छ । त्यस कारण यहाँ फास्ट बलरलाई केही मद्दत मिल्न सक्छ । तर खेल अघि बढ्दै जाँदा स्पिनरहरूका लागि समेत पिचमा मद्दतगार हुन सक्छ ।
