RayNewsDaily
पाकिस्तानी पूर्व प्रधानमन्त्री खानको भ्रष्टाचारविरूद्धको मुद्दा रोक्का    

इस्लामावाद । पाकिस्तानको उच्च अदालतले जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानविरूद्ध भ्रष्टाचारको आरोपमा भएको जेल सजायलाई सोमबार रोकिदिएको छ । अदालतले यसै सम्बन्धमा पूर्वप्रधानमन्त्री खानकी पत्नीको मुद्दालाई पनि रोकिदिएको छ ।    
    
पूर्व क्रिकेटर ७१ वर्षीय खानले यो बाहेक राजद्रोह र अवैध विवाहसम्बन्धी अन्य दुई मुद्दामा सुनाइएको एक दशक लामो जेल सजाय कायम रहेकोले उहाँ जेलमुक्त भने हुनुहुने छैन ।    
    
खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका प्रवक्ता अहमद जान्जुआले इस्लामाबाद उच्च अदालतले पूर्व क्रिकेट स्टारलाई राज्यको उपहार बेचेको आरोपमा सुनाइएको भ्रष्टाचारको आरोपलाई रोकिदिएको पुष्टि गर्नुभयो ।    
    
उहाँका अनुसार जिल्ला अदालतले ‘सीमित वकिलको पहुँच दिएको छ तर प्रतिरक्षा पक्षलाई बहस टुङ्ग्याउन नदिई हतारमा निर्णय लिएको छ ।    
    
पाकिस्तानमा फेब्रुअरीमा भएको आम निर्वाचनको केही दिनअघि खानलाई तीन वटा सजाय सुनाइएको थियो । विश्लेषकहरूले पूर्वप्रधानमन्त्री र उहाँको पार्टी पिटिआईलाई राजनीतिक प्रतिशोधका कारण चुनावमा सहभागी हुनबाट रोक्ने उद्देश्यले मुद्दा परेको बताएका छन् । एएफपी

 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update