RayNewsDaily
शेयर बजारमा ११ अंकको गिरावट

रे समाचार/काठमाडौं । आज शेयर बजार करिब ११ अंक घटेर बन्द भएको छ । शेयर बजार मापक नेप्से परिसूचक आज १०.८३ अंक घटेर २०३०.८६ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य घटेको छ । हिजो २ अर्ब ३५ करोडको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब २३ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । १३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक घटेको छ भने एउटा उपसमूहको परिसूचक बढेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक ०.९१ प्रतिशत बढेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.७२ प्रतिशतले घटेको छ । विकास बैंक र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ ।

गत मंगलबारदेखि कारोबारमा आएर दैनिक सकारात्मक सर्किट लेभलमा कारोबार भइरहेको सर्वोत्तम सिमेन्टको शेयर आज पनि सर्किट लेभलमा नै कारोबार भएको छ । कालिका लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ । अन्य स्टकहरुको मूल्य गिरावट दर भने ४ प्रतिशतभन्दा कम रहेको छ ।

कारोबार रकमका आधारमा आज शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ९ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, जोशी हाइड्रोपावरको ८ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।
 

प्रकाशित मिति: बुधबार, चैत १४, २०८०  १५:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update