RayNewsDaily
शेयर बजारमा गिरावट जारी

रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेर बन्द भएको छ । गत मंगलबारदेखि घट्न थालेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । आज नेप्से परिसूचक १५.३७ अंक घटेर २०४८.५७ विन्दुमा झरेको छ । नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ । हिजो ३ अर्ब ४९ करोडको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ३१ करोड ३० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

सर्वोत्तम सिमेन्टको शेयर निरन्तर तेस्रो कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । गत मंगलबारदेखि कारोबारमा आएको यस कम्पनीको शेयरमूल्य आज ७३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । त्यसैगरी, किसान लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ ।

बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर भने आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा आज माछापुच्छ्रे बैंकको संस्थापक शेयर शीर्ष स्थानमा रहेको छ । सो बैंकको १ अर्ब २१ करोड ३२ लाख रुपैयाँ बराबरको संस्थापक शेयर कारोबार भएको छ । यसैगरी गोर्खाज फाइनान्सको २७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ । व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक आज घटेको छ । व्यापार उपसमूहको परिसूचक ०.६५ प्रतिशतले वृद्धि भएको छ । होटल तथा पर्यटन र लघुवित्त उपसमूहको परिसूचक भने १ प्रतिशतभन्दा बढी घटेको छ ।
 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update